कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित उपचारपछि निको भई डिस्चार्ज
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा १९ दिनदेखि उपचाररत ६ जना कोरोना संक्रमित भारतीय नागरिक बुधबार बिहान डिस्चार्ज भएका छन् । उनीहरुलाई प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेलगायतले फूलमाला लगाएर बिदाई गरेका छन् । उनीहरुलाई विराटनगरको रानीस्थित क्वारेन्टाइनमा लगेर राखिएको छ ।
उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पुनः थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालले जनाएको छ । डिस्चार्जपछि उनीहरुले आफूहरुको अस्पताल बसाइ अत्यन्तै सुखद भएको बताएका छन् ।
उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको तीनै पटकको परीक्षणमा भने पोजिटिभ आएको छ । उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको तर नतिजा आउन बाँकी छ ।