‘भेन्टिलेटरभन्दा बढी मन्त्री र हस्पिटलभन्दा बढी सांसद बनायौं, त्यसैले हामी बास्तवमैं महान् छौं’



नारायण गाउँले ।

नेपालमा सरूवा रोगका लागि सुविधासम्पन्न ल्याबसहितको छुट्टै विशेषज्ञ अस्पताल चाहिन्छ भन्ने ज्ञान राणा शासनमैं आइसकेको रहेछ ।
सड़कहरू नबन्दै हेटौँडाबाट काठमाडौंसम्म सामान ढुवानी गर्न ४० किलोमिटर लामो ‘रोप-वे’ बनिसकेको रहेछ ।
अहिले पनि रेल धेरैलाई सपनाजस्तै लाग्छ, तर जनकपुरमा हाम्रो अग्रज पुस्ताले रेल चढ़िसकेको रहेछ ।
अहिले विश्वभर विद्युतीय सवारी र यातायातबारे बल्ल चेतनाले अभियानको रूप लिँदै छ तर हाम्रो राजधानीमा दशकौँ अघि नै विद्युतीय ट्रली बस शानसित गुडेका रहेछन् ।

राजमार्ग, निकुञ्ज, रङ्गशाला, प्रदर्शनी स्थल, सांस्कृतिक संस्थान, नास्ट, प्रज्ञाप्रतिष्ठान, गौचरन, एअरपोर्ट र हस्पिटलजस्ता देशका महत्त्वपूर्ण पूर्वाधार धेरै अघि बनेका रहेछन् । इतिहास पढ्दै गर्दा मज्जा आउने भनेको त्यस्तो अभावको समयमा पनि थालेका धेरै जसो योजना समयमैं पूरा हुने रहेछन् ।

देशमा साइन्स क्याम्पस खुलेको पनि सय वर्षभन्दा बढ़ी भएछ । चिकित्सा, वनविज्ञान र इन्जिनियरिङ् संस्थान पनि पुरानै रहेछन् । अन्य कुरा त छोडौं, अहिले लकडाउनका लागि पनि दशकौं अघिको कानुन उपयोगी भएको छ ।

समग्रमा देश पहिले स्वर्ग थियो या आजभन्दा धेरै विकसित थियो भन्ने होइन, तर विकास के हो भन्ने ज्ञान हामीलाई धेरै अघि थाहा रहेछ । हामी आँखा खोलेर पनि फेरि निदाएका रहेछौं । बाँकी विश्वसँगै हामीले पनि हिँड्न सुरु गरेका त रहेछौं तर शायद हाम्रो गति साह्रै सुस्त भयो ।

यो सुस्त गतिका लागि हाम्रो पुस्ताले आफूलाई समीक्षा गर्नुभन्दा, सुधार गर्नुभन्दा अघिल्लो पुस्तालाई दोषारोपण गर्ने संस्कृति कहाँबाट विकास भयो कुन्नि ? शायद सजिलोका लागि पनि होला । किनकि अब अघिल्लो पुस्ता प्रतिवाद गर्न त पक्कै आउन्न । विश्वभर इतिहासको सम्मान र गौरवबोध हुन्छ, अघिल्लो पुस्ताले हासिल गरेका उपलब्धिको चर्चा हुन्छ । आजको विकास पक्कै आजकै मात्र जगमा भएको हुँदैन । इतिहास त परको कुरो भयो, हामी त एकअर्कालाई पनि स्वीकार नगर्ने निषेधमुखी अभ्यासमा बाँचिरहेका छौं ।

हो हामीकहाँ विभेद थियो, अशिक्षा थियो, गरिबी, शोषण र दमन थियो । तानाशाही शासन थियो । समाज विसङ्गतिपूर्ण थियो । तर यी सबै समस्या विश्वभर थिए । कतै मान्छेलाई सिक्रीमा बाँधेर किनबेच गरिने दासप्रथा थियो, कहीँ महिलालाई मत हाल्ने अधिकार थिएन । कहीँ जारहरूको दमन थियो भने कहीँ फिरङ्गीको उपनिवेश । तर आज सबैले तरक्की गरिरहेकै छन् । हामीकहाँ जहानियाँ शासनलाई प्रजातन्त्रले पराजित गर्दासम्म विश्वका धेरै देश तानाशाहीमैं थिए ।

शायद त्यहाँ राजनैतिक परिवर्तन र आर्थिक-सामाजिक रूपान्तरण सँगसँगै अघि बढ्यो । हामी राजनीतिमैं अल्झियौं । हामीले प्रजातन्त्रलाई लोकतन्त्र बनायौं । आन्दोलनहरूलाई महान् जन-आन्दोलन बनायौं । विश्वकै उत्कृष्ट संविधान बनायौं । राजनीतिमा गर्न सकिने जति प्रगति हासिल गऱ्यौं । यहाँसम्म कि एक लेनको राजमार्गमा अर्को लेन थप्न नसके पनि नामचाहिँ राजमार्गबाट लोकमार्ग थपिदियौं । भेन्टिलेटरभन्दा बढ़ी मन्त्री र हस्पिटलभन्दा बढ़ी सांसद पनि बनायौं । अरू देशका प्रदेशभन्दा देश सानो थियो । र, पनि सातवटा प्रदेश बनायौं । फल के मिल्यो भने, हिजो एकअर्कालाई जोड्न पुल बनाएका थियौं, आज आफ्नै देशका नागरिकलाई रोक्न पुलमा बार बनायौं ।

निराशा लाग्दो त के भने, अहिले पनि हामी राजनीतिमैं छौं । अबको दश वर्षमा हामीले ‘राजनीति’को ‘राज’लाई झिकेर ‘लोक’ थप्नेछौं र अर्को दश वर्ष त्यसैलाई महान् उप्लब्धिका रूपमा देखाउनेछौं । हामी बास्तवमैं महान् छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ