भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’
भक्तपुर । स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । चन्द्रशमशेर राणाले स्थापना गरेको अस्पतालमा सञ्चालनका लागि बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन अस्पतालमा आइपुगेको छ ।
मेसिन अस्पतालमा आएसँगै प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले उक्त मेसिन जडान कार्यको अवलोकन गरे । मन्त्री थापाले अस्पताल आइसकेको सिटी स्क्यान मेसिन जडान कार्य चाँडोभन्दा चाँडोे सम्पन्न गरेर सेवा सञ्चालन गर्न आज अस्पताललाई निर्देशन दिए ।
उनले सेवा विस्तारका लागिसमेत आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता जनाउँदै कुनै पनि सेवामा सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिए ।
मन्त्री थापा र प्रदेशसभा सदस्य श्रेष्ठले अस्पतालका विभिन्न शाखा एवं सेवाको अनुगमन गरे । उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीसँग भेट गरी अस्पतालको सेवाका बारेमा जानकारी लिए । अस्पतालका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी ८ करोड रुपैयाँ बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेको मन्त्री थापाले राससलाई जानकारी दिए ।
उनले भने, “भक्तपुर अस्पतालमा स्वास्थ्य मन्त्रालयले पहिलो पटक सिटी स्क्यान मेसिन अस्पतालमा ल्याएको छ, यसै महिना यो सञ्चालनमा आउँछ, साथै यस अस्पतालका लागि १ करोड १० लाख रुपैयाँको लागतमा मेमोग्राम मेसिन ल्याउन बोलपत्र आह्वान गरिसकेका छौँ, यो मेसिन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं ‘स्क्रिनिङ’ गर्न सजिलो हुन्छ र बिरामीले अन्य अस्पतालमा धाउनु पर्दैन, दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्छ ।”