भारतद्वारा चीनका ११७ वटा एपमाथि प्रतिबन्धित
चीन र भारतबीच तनाव बढिरहेको बेला दिल्लीले थप ११८ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएका एपमा चर्चित भिडिओ गेम पब्जी र विच्याट लगायत धेरै एप टेन्सेन्ट कम्पनीका उत्पादन छन् ।
यसअघि भारत सरकारले टिकटक सहितका ५९ वटा निकै लोकप्रिय एपहरूलाई राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै प्रतिबन्ध लगाएको थियो । पछिल्लोपटक प्रतिबन्धित गरिएका एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको ’विश्वस्त सूचना’ आफूसँग रहेको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
भारतले सर्च इञ्जिन बाइडुका दुईवटा एप, क्यामकार्डको बिजनेस कार्ड स्क्यानर, अलिबाबाको रकम भुक्तानीसम्बन्धी अलिपे, विद्युतीय व्यापारसम्बन्धी ताओबाओ एप, मार्भल सुपरवार सहितका खेलका एपमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले ती एपबारे विभिन्न स्रोतहरूबाट थुप्रै उजुरी परेको जनाएको छ ।
मन्त्रालयले ती एपले ’एन्ड्रोइड र आइओएसमा रहेका प्रयोगकर्ताका विवरणको दुरूपयोग र गोप्य एवम् अनाधिकृत रूपबाट भारतबाट बाहिर सारेको’ उजुरी परेको जनाएको छ । अमेरिकाले हालै चिनियाँ एपहरूविरुद्ध कदम चालेको छ । उसले टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिँदै अमेरिकी कम्पनीहरूलाई टेन्सेन्टका विच्याट एपसँग कारोबार नगर्न आदेश दिएको छ ।
ह्वाइट हाउसका प्रेस सल्लाहकार पिटर नभारोले अमेरिकी प्रशासनले अन्य चिनियाँ एपप्रति पनि आफ्नो ध्यान खिचिएको बताएका छन् । भारतको निर्णय विवादित हिमालय क्षेत्रमा चीनसँग सीमामा तनाव बढेको बेला गरिएको छ । भारत र चीन दुवैले जुन महिनामा लद्दाख क्षेत्रमा थप बलहरू तैनाथ गरेका छन्।