पिसिआर बिधिबाट १८ हजार र आरडिटीबाट ५९ हजारको नमुना परीक्षण
काठमाडौं । नेपालमा मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । थपिएका संक्रमित सबै पुरुष रहेका र उनीहरुको उपचार सुरु गरिएको उनले बताए ।
संक्रमित मध्ये केही वीरजंगका पत्रकार समेत रहेको खुलेको छ । अहिलेसम्म १८ हजार ९ सय ६४ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको छ भने ५९ हजार ६ सय २७ जनाको र्यापिड बिधिबाट परिक्षण गरिएको छ । हाल २१ हजार ७८५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यस्तै आइशोलेशनमा २२८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।