मुलुकमा १७ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिती
काठमाडौं । मुलुकमा सात महिनामा विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) कूल विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेर २३ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको उल्लेख छ ।
असार मसान्तसम्म विदेशी विनिमय सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेकोमा माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको बैंकले जनाएको छ ।
बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।