निर्यात नै गर्न नसके पनि कति धेरै कुराको आयात प्रतिस्थापन हुनसक्थ्यो कि ?



नारायण गाउँले ।
एउटा यस्तो रुखबिरुवाको नाम सोच्नुहोस्, जुन प्लेट (थालकटौरा) देखि चम्चासम्म बन्न सक्छ, त्यो प्लेटमाथि पस्किएको तरकारी पनि त्यही बन्न सक्छ । तरकारी चलाउने डाडू–पनियो त छँदै छ । अझ रोचक त जुन पिर्का या टेबलकुर्सीमा बसेर खाँदै हुनुहुन्छ, त्यो पनि त्यही बिरुवाको हुनसक्छ । टेबलपोस त भयो नै, यसो नजर लगाउनुभयो भने त्यो घर, छत, भुइँ, छानोदेखि बारबेरसम्म त्यही चीज प्रयोग भएको हुन सक्छ ।
वेटरले बिल राखेर ल्याएको ट्रे र कागज दुबै त्यसैले बनेको हुन सक्छ । खाना र वेटर छोड्नुस्, तपाईंले लगाएको मोजादेखि अन्डरवेयर र टोपीदेखि हाते झोलासम्म त्यसैले बनेको हुन सक्छ । एउटा यस्तो वनस्पति जसबाट बनेको कोक्रोबाट हामी धेरैको जीवन शुरू भएको थियो र अन्तिम घड़ीमा त्यसैमाथि चढेर धेरै जना घाटसम्म पुग्नेछौँ ।

औषधिदेखि फर्निचरसम्म, कपड़ादेखि खानासम्म र छातादेखि गातासम्म अनगिन्ति उपयोग दिन सक्ने त्यो बिरुवा असाध्यै दुर्लभ, महँगो या हुर्काउन असजिलो पनि छैन ! आज त्यही घाँसे वनस्पति बाँसको कुरो गरौँ ।
हामी हरियो वन नेपालको धन भन्छौं । कृषिप्रधान देश भन्छौं । तर काठ सुनभन्दा महँगो छ । आज हामी फलामका खाट र फर्निचर प्रयोग गर्छौं । प्लास्टिक र पेट्रोलियम पदार्थबाट बन्ने कपड़ा लगाउँछौं । जग्गा बार्न काँढ़े तार प्रयोग हुन्छ । बारबेर छोडम्, झ्यालढोका पनि काठको राख्न नसकिने अवस्था छ हाम्रो ।
रुख नकाट्ने भन्दै गर्दा फलाम र कंक्रीटको एउटा प्राकृतिक विकल्प त सोच्न पर्यो नि ! हो, बाँस त्यो विकल्प हुन सक्छ ।

बाँस पहाडदेखि तराईसम्म, सुख्खा ठाउँदेखि खोलाकिनारसम्म जहाँ पनि सजिलै हुर्कन सक्ने वनपस्ति रहेछ । माटो संरक्षण गर्न होस् या वायु प्रदूषण रोक्न, यो निकै उपयोगी र वातावरणमैत्री पनि रहेछ । यसबाट बनेका वस्तुमा सजिलै कीटाणुले आक्रमण नगर्ने रहेछन् । यसको उपयोग लिन धेरै वर्ष कुर्नु पनि नपर्ने । संसारकै सबैभन्दा छिटो बढ्नेमध्ये यो एक रहेछ । एकै दिनमा चार फिटसम्म अर्को कुन वनस्पति बढ्दो हो र ।

अनि के तपाईलाई थाहा छ, किन निर्माण कार्यमा स्काफोल्डिङका लागि फलामका पाइपको ठाउँमा बाँसका पोलको प्रयोग हुन्छ ? बाँस फलामभन्दा बलियो हुन सक्ने रहेछ । यो अपरिचित, कठीन या नयाँ वनस्पति पनि होइन । खेतमा रोपाइँ गर्दा ओढ्ने घूम या छतरीदेखि गुन्द्री र त्यो धान सुकाउने मान्द्रोदेखि थन्क्याउने भकारीसम्म हामीले प्रयोग गर्दै आएको वस्तु हो । बंश शब्दसँग जोडिएको, बहुउपयोगी, पुनप्र्रयोग हुन सक्ने, जन्म र मृत्युसम्म गाँसिएको वनपस्ति भएकाले यसलाई जलाउन नहुने हाम्रो मान्यता पनि रहेछ । आजभोलि पूजामा बालिने अगरबत्तीमा बाँसको प्रयोग हुने हुनाले केहीले त्यो प्रयोग नगर्ने गरेको भेटियो ।
यस्तो असीमित प्रयोग र देशलाई धेरै कुरामा आत्मनिर्भर बनाउन सक्ने बाँसको व्यावसायिक खेतीतिर हामीले धेरै केही गर्न सकेका छैनौं । खेतीयोग्य जमीन नमासीकनै राज्यकै पहलमा व्यावसायिक बाँस खेती गर्ने, त्यससम्बन्धी घरेलु उद्योगलाई प्रोत्साहन गर्ने र उचित बजारीकरणमा काम गर्ने हो भने निर्यात नै गर्न नसके पनि कति धेरै कुराको आयात प्रतिस्थापन हुनसक्थ्यो कि ? आखिर हाम्रो स्थानीय सिप पनि अझै लोप भएको छैन । बाँससँग सम्बन्धित तपाईका अनुभव, अध्ययन या यसका हानिनोक्सानीबारे थप सूचना केही छन् कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माताहतका संस्थालाई सबल बनाउनुपर्छ’

पाटन (ललितपुर)। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो मन्त्रालय मातहतमा

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको