सौराहमा घटे पर्यटक



 

चितवन । चितवनको सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।

पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नारायणगढ–मुग्लिन, मुग्लिन–नौबीसे र नारायणगढ–बुटवल सडक खण्डमा मर्मत तथा बिस्तारले यातायात असहज बनेको छ । पोखराबाट आउनेका लागि मुग्लिन–पोखरा खण्ड पनि बिस्तारले अवरुद्ध भइरहेको छ

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ । जबकी विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो । सडकको दयनीय अवस्था, महङ्गो हवाई भाडालगायतले पर्यटकको सङ्ख्या कम भएको उनको बुझाइ छ ।

उनका अनुसार एउटा विदेशी पर्यटक काठमाडौँबाट भरतपुर आउँदा एक सय ३५ डलर हवाई भाडा लाग्छ । आवतजावत भाडा मात्रै दुई सय ७० डलर खर्च हुन्छ । निकुञ्जमा जीप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वभाविक रुपमा बढ्छ । विदेशका लागि निकुञ्ज प्रवेशमा दुई हजार खर्च हुन्छ भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जीप सफारीका लागि  दुई हजार खर्च लाग्छ ।

सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि सङ्घले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताए । विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रुपमा गर्न लागिएको उनको भनाइ छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे पर्यटकीय मौसम पछाडि सरेको बताउँछन् । विगतका वर्षमा सेप्टेम्बरको मध्य अर्थात् असोज पहिलो साताबाटै पर्यटक आगमन हुने भएपनि यसवर्ष अझै पर्यटक नआएको उनको भनाई छ ।

युनाइटेड हात्ती सहकारी संस्था लिमेटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यसपटक हात्ती सफारीका बुकिङ खासै छैन । उनको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’ समेत पाउन नसकेको अवस्था छ । “दैनिक १२ देखि १५ वटा मात्रै ट्रिप आउने गरेको छ, चाडपर्व सुरु भएपछि ट्रिप बढ्नेमा विश्वास छ”, उनले भने ।

चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुल्ला गरिने छ । बाटो र पुलहरु धेरै बिग्रिएका ठाउँ बाहेक अन्यत्र खुल्ला गर्न लागिएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुने

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईंकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठा