चलचित्रको सेन्स नभएकाहरुलाई सेन्सर बोर्डबाट पदमुक्त गर्न सांसद शाहको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सेन्सरबोर्डले अनावश्यकरुपमा चलचित्रको सेन्सर गरेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहले सेन्सर बोर्डका सदस्यहरूको योग्यतामाथि प्रश्न उठाइका हुन् ।
उनले चलचित्रको सेन्स नभएकाहरुलाई बोर्डबाट पदमुक्त गर्न माग गरेका हुन् । उनले चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको आरोप लगाए ।
उनले चलचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिने भन्दै होस पुर्याउन चेतावनी दिए । उनले भने, ‘सेन्सरबोर्डमा राजनीतिक नियुक्ति पाएका सबै ननसेन्सर सदस्यहरूलाई पदमुक्त गरी चलचित्र बुझेका मान्छेलाई नियुक्त गर्न म सरकारसँग माग गर्दछु । यसरी फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्न आग्रह गर्दछु।’
प्रधानमन्त्री ओलीले बोलेको भाषणको दृश्य चलचित्र राजागञ्जमा समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले प्रदर्शन अनुमति रोकेको थियो ।
पछि उक्त अभिव्यक्ति काटेपछि प्रदर्शनको लागि अनुमति दिइएको थियो । यसप्रति चलचित्रकर्मीलाई आपत्ति जनाउँदै बोर्डविरुद्ध आन्दोलन गर्ने बताएका छन् । चलचित्रकर्मीहरुले पनि बोर्डमा चलचित्र बुझेको व्यक्तिहरुलाई मात्र राख्न आग्रह गरेका छन् ।