‘महाजात्रा’ विदेशमा प्रदर्शनको तयारी



काठमाडौँ । नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ ।

दर्शक बढाउने काम अपेक्षित चलचित्रले गरेका छन् । तीमध्येको एक हो, ‘जात्रा’ शृङ्खला । षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रले अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यहीँ कारण उक्त कम्पनीले निर्माण गर्ने आगामी चलचित्र ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’को भारतबाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका छन् । उनले कथाले पूर्णता नपाउँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खलाप्रतिको दर्शकको विश्वासलाई मुख्य कारण देखाए ।

“जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । त्यहीँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेँ”, वितरक थापाले भने, “मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकांश देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नुभएको छ । निर्माण पक्षलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो शृङ्खलाले बनाएको विश्वसनीयता पनि हो ।”

जापान, हङ्कङ, न्यूजील्याण्ड, दक्षिण कोरिया, मध्यपूर्वका देश, अष्ट्रेलिया तथा युरोपमा चलचित्र नेपालकै मिति आगामी चैत ९ गते प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिँदै वितरक थापाले ‘महाजात्रा’मार्फत केही नयाँ देशमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुनेसमेत बताए ।

विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवारका साथ आउने गरेका छन् । सो चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन लागेको बताए ।

“हाम्रो पछिल्लो चलचित्र जात्रैजात्रा इन्टरनेट रिलिज भएपछि अधिकांश दर्शकले सामाजिक सञ्जालमार्फत आगामी शृङ्खला ल्याउन आग्रह गर्दै जिज्ञासा राख्नुहुन्थ्यो । हामीले दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत शृङ्खलालाई निरन्तर दिन हौसला दिएको हो”, उनले भने ।

आपतकालीन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’को लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् भने यसमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कालगायत कलाकारले अभिनय गर्नेछन् । यसको छायाँङ्कन दसैँलगत्तै कात्तिकको दोस्रो साताबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक

यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका