कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य



बेनी । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा दुई विद्यालयको नतिजा शून्य भएको छ ।

बेनी–१ रत्नेचौरको भानु माध्यमिक विद्यालय र वडा नं ३ भकिम्लीको बालप्रिय शारदा आधारभूत विद्यालयको नतिजा शून्य भएको हो ।

नगरभित्रका सामुदायिक २४, संस्थागत आठ र एउटा उज्यालो वैकल्पिक विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकामध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका नगरको शिक्षा शाखाका अधिकृत कमलप्रसाद ढकालले जानकारी दिए ।

उनले पालिकाले सञ्चालन गरेको परीक्षामा समग्रमा गतवर्षको तुलनामा नतिजामा सुधार देखिए पनि दुई विद्यालयको नतिजा भने निराशाजनक भएको बताए ।

ढकालका अनुसार भानु माविबाट ११ विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना मौका परीक्षामा सहभागी हुनेछन् भने १० जना अनुत्तीर्ण भएका छन् ।

बालप्रिय विद्यालयबाट सहभागी सातमध्ये चार जना मौका परीक्षामा सहभागी हुनेछन् भने तीन जना अनुत्तीर्ण भएका नगरको शिक्षा शाखाले जनाएको छ ।

‘कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका लागि एउटै प्रश्नपत्र तयार गरिएको थियो । साथै फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो । उत्तरपुस्तिका ‘कोडिङ’ गरेर परीक्षण गरिएको थियो । परीक्षामा एक संस्थागत र नौ सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ’, शिक्षा शाखाका अधिकृत ढकालले भने ।

परीक्षामा सहभागी ८८४ विद्यार्थीमध्ये ६४१ उत्तीर्ण र २३७ विद्यार्थी अनुत्तीर्ण भएका शिक्षा शाखाले जानकारी दिएको छ । शाखाका अनुसार बढीमा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीका लागि सञ्चालन हुने ‘ग्रेड’ वृद्धिको परीक्षामा एक सय ७३ विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षामा गणितमा तीन सय ६१, अङ्ग्रेजीमा एक सय ६३, नेपालीमा एक सय ३९, विज्ञानमा दुई सय २४ र सामाजिकमा एक सय ६३ जना अनुत्तीर्ण भएका छन् ।

ढकालका अनुसार गत वर्ष कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएकामध्ये पाँच विषयमा पाँच/पाँच अंक र दुई विषयमा दुई/दुई अंक ग्रेसमार्क (मापदण्ड नपुगेकाले थपेर दिने अंक) दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष ग्रेसमार्क नदिँदा पनि ७२ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा नतिजामा सुधार भए पनि शून्य र ५० प्रतिशत विद्यार्थीसमेत उत्तीर्ण नहुने विद्यालयको शैक्षिक अवस्थाले गम्भीर बनाएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताए ।

उनले कमजोर शैक्षिक अवस्था भएका विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिकाको नेतृत्वसँगै स्थानीय सरोकार भएका निकाय र विद्यालयसँग सम्बन्धित पक्षबीच छलफल र अन्तरक्रिया गरी योजना बनाएर अघि बढ्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

गलकोट (बागलुङ) । बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

खोटाङ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

काठमाडौं ।  सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने