नेपालमा सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी



काठमाडौँ । नेपालमा सुरुङमार्गको बढ्दो आवश्यकतासँगै त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक र पश्चिमाञ्चल क्याम्पस, पोखराले सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी थालेका छन् ।

पुल्चोक र पश्चिमाञ्चल क्याम्पसले स्नातकोत्तर तहमा छुट्टै कार्यक्रमका रूपमा सुरुङ विद्याको सम्भावना, पाठ्यक्रम, विज्ञको खोजीका लागि अध्ययन समिति बनाएका छन् ।

दुवै क्याम्पस आउँदो शैक्षिक सत्रदेखि नै कक्षा सुरु गर्ने तयारीमा छन् । गण्डकी प्रदेश सरकारले सुरुङ इन्जिनियरिङको पाठ्यक्रम बनाउन पश्चिमाञ्चल क्याम्पसलाई १० लाख रुपैयाँ बजेट छुट््याएको छ । सुरुङमार्ग बनाउने दक्ष जनशक्ति देशमै उत्पादन हुन नसकेपछि त्यसको तयारी गर्न रकम विनियोजन गरिएको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले जानकारी दिए ।

पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले स्नातकोत्तर तहमा सुरुङ इन्जिनियरिङ अध्ययनका लागि सहायक क्याम्पस प्रमुख (प्रशासन) निर्मलप्रसाद बरालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर मस्यौदा तयार गरिसकेको बताए ।

‘अब नोभेम्बर १ र २ (कात्तिक १५ र १६) मा पाठ्यक्रम कस्तो बनाउने भनेर विज्ञहरू बोलाएर कार्यशाला गर्दै छौं,’ उनले भने, ‘गण्डकी प्रदेशमा सुरुङको काम बढीभन्दा बढी आवश्यक छ र यहीँ नै जनशक्ति उत्पादन गर्न पढाउने तयारीमा लागेको हौं ।’

पाठ्यक्रम कार्यशालामा त्रिभुवन, काठमाडौं, पोखरा विश्वविद्यालय र नर्वेजियन युनिभर्सिटी फर साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू) बाट विज्ञहरू आउने तय भएको उनले बताए ।

पुल्चोक क्याम्पसले ‘रक एन्ड टनेल इन्जिनियरिङ’ पढाउनेबारे सम्भाव्यता अध्ययनका लागि असोज २ गते सिभिल इन्जिनियरिङ विभागका प्रमुख भरत मण्डलको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ ।

समितिका सदस्यमा प्रा. अकलबहादुर सिंह, प्रा. प्रेमनाथ मास्के, कमलबहादुर थापा, इन्द्रप्रसाद आचार्य र सदस्य सचिवमा संगीता मल्ल श्रेष्ठ छन् । अध्ययन समितिका संयोजक मण्डलका अनुसार सिभिल इन्जिनियरिङमा स्नातक गरेका विद्यार्थीले ‘रक एन्ड टनेल इन्जिनियरिङ’ मा स्नातकोत्तर गर्न पाउने गरी तयारी थालिएको हो ।

कार्यक्रमलाई डिन कार्यालय, फ्याकल्टी बोर्ड, विषय समिति र विद्या परिषद्ले पारित गर्नुपर्छ । ‘सडक विभाग, सडक बोर्ड, सिंचाइ विभाग, भवन विभाग, विद्युत् प्राधिकरणलगायत निजी क्षेत्रका निकायले पनि सुरुङ इन्जिनियर पाइएन भन्दै आउँछन् तर हामीले दिन सकेका छैनौं,’ मण्डलले भने, ‘अब यसको पढाइ सुरु गरियो भने देश भित्रैबाट त्यो आवश्यकता पूरा गर्न सकिएला ।’

पुल्चोक क्याम्पसलाई बेलायतको वारविक विश्वविद्यालय र नर्वेको एनटीएनयूले पाठ्यक्रम बनाउन सहयोग गर्ने वचन दिएका छन् । पुल्चोक र पोखराले २०र२० विद्यार्थीलाई भर्ना लिने योजना छ ।

उनीहरूले स्नातक र स्नातकोत्तरका अन्य कार्यक्रममा ‘इलेक्टिभ कोर्स’का रूपमा टनेल इन्जिनियरिङबारे पढाइ गर्दै आए पनि छुट्टै विषयका रूपमा यो नै पहिलो पढाइ हुने जनाए ।

अहिले नेपाल आएका एनटीएनयू नर्वेका प्राध्यापक कृष्णकान्त पन्थीले नेपालजस्तो भौगोलिक अवस्थिति भएको मुलुकका लागि ‘रक एन्ड टनेल इन्जिनियरिङ’ आवश्यक भएको औंल्याउँदै कलेजहरूलाई पाठ्यक्रम बनाउन आफूले पनि सहयोग गर्ने बताए ।

‘हाम्रो देशको भौगोलिक अवस्थाअनुसार सिक्नका लागि पनि नेपालमै सुरुङ विद्याको प्राज्ञिक अध्ययन हुनुपर्छ,’ पन्थिले कान्तिपुरलाई भने, ‘त्यसका लागि हामीले सिकेको ज्ञान, सीप पनि आदान–प्रदान गर्न चाहेका छौं ।’

‘नेपाल टनेलिङ एसोसियसन’ का अध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठले सुरुङ मार्गसम्बन्धी काम गर्ने विभिन्न इन्जिनियरिङ समूहका एक सय इन्जिनियर एसोसिएनमा आबद्ध भएको बताउँदै सुरुङ इन्जिनियरिङमा स्नोतकोत्तर र विद्यावारिधि गरेका १२–१५ जनाजति रहेको औंल्याए । ‘ती पनि विदेश पढेर आएका हुन्,’ श्रेष्ठले भने, ‘अब छुट्टै विषयका रूपमा पढाइ भयो भने यहीँ नै दक्ष जनशक्ति उत्पादन हुन्छ र देशको खाँचो पूरा गर्न सकिन्छ ।’
कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी (म्याग्दी) । अष्ट्रेलियाका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको