महागुरूको व्यथा
डा गोविन्दशरण उपाध्याय ।
समय : ६ः३९ वेलुका
स्वास्थ्य जीवनका लागि निन्द्राको ठूलो योगदान हुन्छ । महागुरू निदाउँन नसकेको ७ रात्री वितिसकेको रहेछ । भव्य घर (आश्रम), महंगा विस्तारा, महँगो भोजन, आज्ञाकारी सेवक सबै उनीसंग छन् तर निन्द्रा थिएन । कोरोनाले गर्दा उहाँले आफ्नो बाचाल प्रवचन दिन सक्नुभएको थिएन भने भक्तहरूको आगमन निकै खुम्चिएको थियो ।
निन्द्रा नपरेपछि ठूलाठुला मनोवैज्ञानिकहरू भाडामा ल्याइए । ठूलाठूला “जान्ने” डाक्टरहरूले अनेकौं परक्षण गरे । सबैले बडो आदर तथा श्रद्धाका साथ परीक्षण गरे तर निन्द्रा नलाग्नुको कारण पत्तो लागेन । महागुरूलाई निन्द्रा परेन ।
महागुरूको स्वास्थ्य विग्रंदै गएपछि विश्वभरिका चेलाचपाटाहरूलाई निकै चिन्ता पर्यो । महागुरूले कोरोनाकालमा धेरै प्रयत्न गर्दा पनि आश्रममा कसैलाई भित्र्याउन सकेका थिएनन् । जहिलेसुकै “जयजय, महाराज, हजुर, जगदगुरु, महामहिम, विश्वगुरू”जस्ता शब्दहरू गुरुजीको कानमा पर्न छाडेको धेरै भएको थियो ।
महागुरूको स्वास्थ्य विग्रदै गएपछि निकै चिन्ता बढ्यो । निकै खोज गरेपछि एकजना निर्धन सन्त भेटिए । गुरुजीका चेलाहरूले मन नपरे पनि ती सन्तलाई महागुरूको विशाल आश्रममा लगे । विशाल आश्रम, लम्बेचौडा चेलाचेलीहरू र महंगा भोग्य सामाग्री हेर्दै सन्त “गुरूजी”को महलमा पुगे ।
महागुरूसंग भलाकुसारी भयो । केही क्षणमै सन्त गुरुजीको महलबाट वाहिर आए । उनले महागुरुका शिष्यहरूको कानमा केही कामहरू गर्न अह्राए र सन्त आफ्नो बाटो लागे ।
भोलिपल्ट विहानै आश्रममा एकाएक ठूलो माइकबाट “महाराजको जयजयकार, महागुरूकोको जयजय, विश्वगुरू”बज्न थाल्यो । जताततै माइक र टेपहरूले गुरुजीकै जयजयकार बोल्न थाले । महागुरुको सम्मानमा आरती बज्न थाल्यो ।
यता सेवकहरू जव गुरुजीको शयनकक्षामा पुगे गुरूजी मस्त निन्द्रामा हुनुहुन्थ्यो । गुरुजीको कानमा धेरै समयपछि जयजयकारको स्वर परेको थियो । गुरुजीको मनमा अद्भूत शान्ति आयो । उनको हृदय प्रसन्न भयो । प्रसन्नता प्राप्त भएपछि निन्द्रा त पार्ने थियो ।
तेसदिन देखि हरेक दिन विहान माइकले महागुरूको सम्मानमा भजन, आरती गाउँन थाल्यो, अनि महागुरूजीलाई पनि मस्तसंग निन्द्रा पर्न थाल्यो ।
टिप्पणी : कथाको अर्थ बुझ्ने काम पाठकको हो ।