हाम्रो प्रजातन्त्र….
डा. गोविन्दशरण उपाध्याय ।
प्रजातन्त्रसँग मेरो कुनै विरोध छैन । प्रजातन्त्रसँग मेरो कुनै गुनासो छैन । गुनासो त छ उनीहरूसंग जसले प्रजातन्त्रलाई आफ्नो पेवा ठान्छन् । प्रजातन्त्रलाई आफ्नो सम्पति ठानेर आफ्नो “मोडेल“मा ढालेर आफ्नो स्वार्थको लागि प्रयोग गर्छन् । उनीहरूका लागि प्रजातन्त्र र प्रजातान्त्रिक पद्धति भनेकै उनीहरूको खटानमा चल्नु हो, उनीहरूले अह्राएको काम गरे प्रजातान्त्रिकता हुन्छ, होइन भने नक्कली ठहरिन्छ ।
विश्वभरीका मान्छेहरू कुनै नकुनै देशका प्रजानै हुन् । प्रजा नभएको विरानो ठाउँका लागि प्रजातन्त्रको कुनै अर्थ हुँदैन । प्रजातन्त्र पश्चिमा वा पौरस्त्य पनि हुँदैन । प्रजातन्त्र सबैको साझा विचार हो । प्रजातन्त्र प्रजाको साझा विचार हो । प्रत्येक देशका जनताहरूको ओरियन्टेशन र हुर्काईले त्यहाँको प्रजातान्त्रिक गति निर्धारित गर्छ ।
नेपाली जनता धर्मप्राण छन् । यहाँको प्रजाका विचारहरू धर्मका वरिपरी घुम्छन् । त्यसैले नेपाली प्रजातन्त्रको निर्धारण धर्मनिरपेक्षताले गर्न सक्दैन । नेपाली जनताको जीवनशैली र दैनिक धार्मिक छ भने धर्म–सापेक्ष प्रजातान्त्रिकता नेपालीहरूको प्राकृतिक प्रजातन्त्र ठहरिन्छ । धर्मनिरपेक्षता नेपाली प्रजातन्त्रको स्वभाव हुनै सक्दैन । यदि नेपाली राजनीतिले धर्मनिरपेक्षतालाई प्रजातन्त्रको अनिवार्य अंग मान्छ भने यस्तो प्रजातन्त्र आयातीत हो । जुन दिन यो नेपाली संविधानमा लेखियो त्यसै दिन यसको मृत्यु पनि तोकियो ।
नेपाली जनतालाई नेपाली प्रजातान्त्रिक संस्कारको अभ्यास गर्नबाट बंचित गर्ने आयातीत प्रजातन्त्रको स्वामित्व नेपाली जनताले स्वीकार्न गर्न आवश्यकता छैन । “सँगै हिंडौं, मिलेर भोजन गरौँ, कसैको कुभलो नगरौं र मिलेर पराक्रम गरौँ र धर्मको आचरण गरौँ“ – नेपाली जनताको प्रजातन्त्रले यसो भन्छ ।