स्वास्थ्यमा समस्या छ भने होस् पुर्याउनुस् है दशैंमा !
डा. अरुणा उप्रेती
हामी सानो छँदा आलु काउली, मासु, चिउरा, पुलाउ खान पाइने लोभमा हामी दशैंको बेलामा टाढा टाढाको नाता लाग्ने मानिसहरुको घरमा गइन्थ्यो । अहिले चाहिँ ठूलालाई सबै ठाउँमा नयाँ लुगा प्रतिको मोह कम भएपनि दशैंमा नातागोता साथीहरु सँग भेटघाट गर्ने कार्यक्रम चाहिँ अहिले झन बढदै गएको छ । यो राम्रो सामाजिक पक्ष हो ।
अहिले कतिपय वयस्कलाई उच्चरक्तचाप, मधुमेह आदि भएको छ त्यस्तो मान्छेले त दशैंको बेला जिब्रोलाई लगाम नै दिनुपर्छ । तर प्राय यस्ता मानिसहरूलाई पनि दशैंमा खानको लोभ रोक्न गाह्रो हुन्छ । एकछिन खान त रमाइलो नै हुन्छ । तर स्वास्थको पनि ध्यान दिनु पर्छ भन्ने कुरा चाहिँ बेवास्ता गरिन्छ । एक गाँस “कम खानु यो खास गाह्रो कुरा त होइन, स्वास्थ्य समस्यापरेका तर मानिसललाई कोचेर खाँदा त वित्यास नै पर्छ ।”
दशैंको बेलामा मासु त जोडिएको नै हुन्छ । “दशैंमा मासु भात नखाए के दशैं” भन्ने सोच प्राय: हुन्छ । पहिले पहिले मासु खान शायद चाड पर्व नै पखर्नु पर्ने हुनाले यसो भनिएको हो कि ?
हुन त अहिलेको बेलामा मासु खान दशैं नै पर्खन त पर्दैन तै पनि विशेष गरी तिहार र दशैंका बेलामा मासु भात, मासु चिउरा, मासुका अनेक परिकारहरुसँगै मसालेदार र तेल घिउले लदबद भएको खानेकुरा घरघरमा नै खाइन्छ । कति गाउँ ठाउँमा मासुभात खानको लागि पहिलेदेखि नै खसी बोको, सुगुर आदि पालेर राखेको हुन्छ ।
यो बेलामा समुदायमा खसी बोको, सुगुर मिलेर पनि काटिन्छ, बेसगरी खाइन्छ । तर यरी धेरै मासु र खाना खाँदा हामीले कति स्वस्थ भोजन गर्दछौं, सोच्ने बेला भएको छ ।
दशैं तिहार र अन्य धेरै संस्कृति, धार्मिक चाडपर्वलाई परिवार र साथीहरुसंग मिलेर मनाउनाले हाम्रो जीवनमा धेरै नै सकारात्मक भुमिका खेल्छ । दशैं तिहारको बेला गाउँ घरमा कति जना वर्षभरि बाहिर काम गरेर घर फर्किन्छन् ।
इद र क्रिसमस मान्नेहरु आफ्नो धार्मिक दिवस पनि त्यसैगरी पारिवारिक जमघट गरेर रमाइलो गर्छन् । प्रत्येक चाडले मानव मनमा खुसी ल्याउछ, सम्बन्धहरु नजिक पार्छ, वातावरण रमाइलो पार्छ । यसले गर्दा स्वास्थ्यमा पनि विशेष गरी मानसिक स्वास्थ्यमा त झन प्रभाव पर्छ ।
तर यो रमाइलोको बेलामा यदि खानपिनमा (विशेष गरी विभिन्न स्वास्थ्य समस्या भएका बयस्क वा बूढाबूढीहरुले) खानपिनमा ध्यान राखेनन् भने त दशैं र चाडपर्व सिद्धिने बित्तिकै अनेक स्वास्थ्य समस्या भएर डाक्टर, अस्पताल, औषधी आदिको पछि लाग्नुपर्छ ।
“दशैंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न ।
कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।
तर खाएर शरीरको रगतमा गइसकेपछि ती वस्तुलाई चाहेर पनि निकाल्न सकिन्न । औषधीले केही दुखाई त कम गरे पनि दुखाइ सहनु नै पर्छ । फेरि कति चोटी त समस्या यती बढ्छ कि औषधीहरु पनि “कमजोर” साबित हुन्छन ।
धेरै औषधी खाँदा फेरी समस्या हुन्छन् । औषधीहरुले सधैं रोगहरु निको पार्दा हुन त, अमेरिकामा त धेरै जनाको अनेक रोगहरु निको भइसक्यो होला । तर वास्तवमा त्यस्तो हुँदैन ।
फेरि दुखाई कम गर्ने कतिपपय औषधीहरुको धेरै प्रयोग गर्दा त्यसले मृगौलामा नै समस्या पार्छ भनेर सिद्ध भइसकेको छ । तैपनि “बरु पछि जे होला , देखा जाएगा , अहिले त आनन्द सँग खाउँ, मरेर जाने चोला त हो नि, किन पिर गर्नु”? भन्ने जस्ता तर्क दिएर कतिजनाले खाइरहन्छन् ।