रङ्गैरङको पर्वमा टोखाबाट समेटिए ‘रङ्गिन सिर्जना’



नारायण ढुंगाना, काठमाडौँ । ललितकला क्षेत्रका कलाकारको एक समूह बिहीबार काठमाडौँको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे । रङ्गैरङको पर्व होली अर्थात् फागूका अवसरमा उहाँहरुले त्यहाँबाट दृश्यपान गर्न सकिने प्रकृतिका उपहारलाई जलरङले क्यान्भास भरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बुद्धिष्ट संस्कृतिलाई मिथक बनाउँदै रङ्गिन सहरको परिकल्पना गरे । उनले आजको दिन रङको उत्सव भएकाले त्यसमा कल्पना भरेर आफूलाई आनन्द दिने रङ्गिन सहरको कला सिर्जना गरे ।

पर्वको अवसरमा त्यसैलाई जोडेर आयोजना गरिने यस्ता कार्यक्रमले चाडपर्वको महत्वलाई अझ बढाइदिने र सिर्जनालाई थप प्रोत्साहन हुने हुँदा यसरी कार्यशाला आयोजना गर्न जरुरी रहेको लामा सुनाउँछन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा यहाँ आज फागु विशेष कला कार्यशाला भएको हो । समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक एनबी गुरुङ समाज, संस्कृति र कला एकअर्कामा अन्तरसम्बन्धित हुने भएकाले पनि संस्कृति र पर्वमा कला सिर्जनाले नयाँ आयाम थपिदिने सुनाउँछन् । त्यही निष्कर्षका साथ समाजले फागुपर्वको अवसरमा कला सिर्जना गरेको हो ।

आज रङको पर्व हो, हामी बाह्रै महिना रङ खेलाउने मान्छे आजको यो दिनलाई उत्सवमय किन नबनाउने भनेर कलाकारको समूह टोखा पुगेको कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष गुरुङले सुनाए । “एक त पर्वको अवसरमा शुभकामना आदानपदान पनि भयो, अर्काे रङको फेस्टिवलमा रङसँग जोडिएर केही गरौँ भन्ने भावनाका साथ कार्यशाला आयोजना गरेका हौँ”, कार्यक्रमबारे प्रस्ट्याउँदै उनले थपे । आजको दिन सहरबजार थरिथरिका रङले सजिएका छन् । मानिसमात्रै होइन सडक, चोकचौतारा, घर बगैँचा नै रङ्गिन भएको छ ।

कलाकार सधैँ रङसँग खेल्ने गर्छन् । पर्वलाई अझै कलासँग जोड्दा महत्व थपिने कलाकारहरूको बुझाइ छ । टोखाको भ्यू–थलीबाट देखिने उपत्यकाको दृश्य लोभलाग्दो पनि छ । कुनै बेला उत्कृष्ट सडक निर्माण गरेको भनेर सामाजिक सञ्जालमा भाइरल भई टोखा नगरपालिकाले प्रशंसा बटुलेको उक्त स्थान साँच्चिकै रमणीय छ । सूर्याेदय र सूर्यास्तको सुन्दर दृश्यका साथै उपत्यकाको काँठ तथा प्राकृतिक दृश्यले उक्त क्षेत्र पुग्ने मानिसको मन लोभ्याइदिन्छ । यहाँ दैनिक आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी सुनाउँछन् । त्यसैले दर्जनौँ रेष्टुरेन्टहरू खुलेका छन् । अझै त्यहाँबाट उपत्यकालगायत क्षेत्रका दृश्यहरू सुन्दर देखिने भएकाले क्यान्भासमा रङ भर्न कलाकार पनि आतुर हुन्छन् ।

आजको रङ्गिन पर्वमा कलाकारले त्यही दृश्यलाई समातेर जलरङ भरेका थिए । उक्त कला कार्यशालामा कलाकारहरू लामा र गुरुङसहित डिराम पाल्पाली, दीपेन्द्रमान बनेपाली, चन्द्रा श्रेष्ठ, प्रकाश मानन्धर, सुरेश स्याङ्तान, किरण सिगु, राजेन्द्र याकमी, नेमबहादुर तामाङ, उमेशचन्द्र अधिकारी, भीम श्रेष्ठलगायतले जलरङमार्फत दृश्यलाई क्यानभासमा कैद गरे ।

यसपालि कोभिड–१९ को असर कम भएकाले पनि फागु थप उल्लासमय भएको थियो । त्यस क्षेत्रमा फागु खेल्न समूहसमूहमा युवाहरू पुगेका देखिए । ती दृश्यलाई पनि कलाकारले समेट्न भ्याएका छन् । कोरोनाका बेला अनलाइनमा सीमित कला कार्यशाला कोरोनाको प्रभाव कम हुँदै जाँदा खुलेर आयोजना हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो

हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्याएको क्यान्भास

वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’

    काठमाडौँ ।  शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको

चित्रकलामार्फत काठमाडौँमा झल्कियो खोटाङ

काठमाडौँ । काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन् । तर उनले सोमबारदेखि