प्रकोप प्रतिरोधी बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिएकी छन् । पाँचौँ भूकम्प दिवसको सन्दर्भ पारेर शुक्रबार दिएको सन्देशमा राष्ट्रपतिले नेपाल भूकम्प, बाढी, डुबान, पहिरोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले प्रकोप प्रतिरोधी बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पुर्याउनुपर्ने आवश्यकता औंल्याइन् ।
वि।सं। २०७२ वैशाख १२ गते ७ दशमलव ६ रेक्टरको विनाशकारी भूकम्प गएको दिनको स्मरण गर्दै राष्ट्रपतिले सबै संरचनाको अध्ययन गरी कमजोर संरचनालाई प्रबलीकरण गर्दै अभियानका रूपमा भवन निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकृष्ट पनि गराएकी छन् । उनले प्राकृतिक विपद्ले ल्याएको सङ्कटका बेला दिनरात नभनी, दुःख–कष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएकी छन् ।