ट्रम्पको भन्सार महसुलको विश्वव्यापी प्रभावबाट जापान ‘गहिरो चिन्तामा’
टोकियो । जापानका अर्थमन्त्री कात्सुनोबु कातोले आइतबार प्रमुख व्यापारिक साझेदारहरू क्यानाडा, मेक्सिको र चीनलाई लक्षित गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको व्यापक भन्सार महसुलको विश्वव्यापी व्यापारमा पर्ने सम्भावित असरबारे जापान ‘गहिरो चिन्ता’ मा रहेको बताएका छन् ।
ट्रम्पले क्यानाडा र मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा हुने निर्यातमा मङ्गलबारदेखि २५ प्रतिशत भन्सार महसुल लाग्ने र चीनबाट आउने सामानमा थप १० प्रतिशत भन्सार महसुल लाग्ने बताए ।
यो घोषणाले ऊर्जादेखि अटोमोबाइल र खाद्यान्नसम्म आपूर्ति शृङ्खलामा उथलपुथलको खतरा निम्त्याएको छ ।
“यी भन्सार महसुलले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छन् भन्ने बारेमा हामी गहिरो चिन्तामा छौँ”, जापानी अर्थमन्त्री कातोले फुजी टिभीको एक आइतबारको कार्यक्रममा भने ।
फुजी टिभीका अनुसार कातोले विदेशी मुद्रा बजारमा ट्रम्पको भन्सार महसुल नीतिको सम्भावित प्रभावहरूको ‘पूर्ण मूल्याङ्कन’ गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।
“जापानले यी नीतिहरू र तिनका प्रभावहरूको सूक्ष्म परीक्षण गर्नुपर्छ र उचित कदमहरू चाल्नुपर्छ”, फुजी टिभीले कातोलाई उदृत गर्दै भन्यो ।
गैरकानूनी आप्रवासी र फेन्टानाइलसहितका लागुऔषधको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताए ।
चीन, क्यानडा र मेक्सिकोले भन्सार महसुलको जवाफ दिने प्रतिज्ञा गरेका छन् । बेइजिङको वाणिज्य मन्त्रालयले ‘सम्बन्धित जवाफी कदमहरू’ चाल्ने र विश्व व्यापार सङ्गठनमा वासिङ्टनविरुद्ध दावी दर्ता गर्ने बताएको छ ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो देशले जवाबी शुल्क लगाउने बताएका छन् भने क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावाले पनि एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब छ अर्ब ६० करोड अमेरिकी डलर) मूल्यका केही अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने बताएका छन् ।