फ्रान्सेली दक्षिणपन्थी नेता जीन–मारी ले पेनको ९६ वर्षको उमेरमा निधन



पेरिस । फ्रान्सको दक्षिणपन्थी आन्दोलनका ऐतिहासिक नेता जीन–मारी ले पेनको मङ्गलबार ९६ वर्षको उमेरमा निधन भएको छ ।
केही हप्तादेखि स्याहार केन्द्रमा रहनुभएका ले पेनको मङ्गलबार मध्याह्न (११०० जीएमटी) मा ‘आफन्तहरूको उपस्थितिमा’ निधन भएको परिवारले विज्ञप्तिमार्फत जनाएको छ ।
नेसनल फ्रन्टका सह–संस्थापक ले पेनले सन् २००२ मा कडा आप्रवासन विरोधी मुद्दाका साथ राष्ट्रपति चुनावको दोस्रो चरणमा पुगेर फ्रान्सलाई तरङ्गित बनाएका थिए ।
उनीमाथि प्रायः जातिवाद र यहुदी विरोधी भएको आरोप लगाइन्थ्यो र उनले यहुदी नरसंहारलाई इतिहासको विवरणका रूपमा खारेज गरेको कुरा कुख्यात छ ।
उनकी छोरी मरिन ले पेनले सन् २०११ मा पार्टीको नेतृत्व सम्हाले र आफ्नो आन्दोलनलाई उनको चरमपन्थी प्रतिष्ठाबाट टाढा राख्ने प्रयासमा जीन–मारीलाई चार वर्षपछि पार्टीबाट निष्कासन गरे ।
नेसनल र्याली (आरएन) नाम परिवर्तन भएपछि पार्टीले उल्लेखनीय प्रगति गरेको छ । यसले गत वर्षको युरोपेली संसद् चुनावमा ठूलो सफलता हासिल गर्यो र त्यसपछि फ्रान्सको आम निर्वाचनमा सबैभन्दा ठूलो एकल पार्टी बन्यो ।
आरएन पार्टीका प्रमुख तथा मरिन ले पेनका दाहिने हात जोर्डन बार्डेलाले सावधानीपूर्वक शब्दमा जीन–मेरी ले पेनले ‘सधैँ फ्रान्सको सेवा गरेको’ बताए ।
“इन्डोचाइना र अल्जेरियामा फ्रान्सेली सेनाको सिपाही, राष्ट्रिय सभा र युरोपेली संसद्मा जनताको प्रतिनिधिका रूपमा उहाँले सधैं फ्रान्स र यसको पहिचान र सार्वभौमिकताको रक्षा गर्नुभयो”, २९ वर्षीय बार्डेलाले एक्समा भने, “आज म उहाँको परिवार, उहाँका प्रियजनहरू र निस्सन्देह मरिनको शोकको सम्मान गर्नुपर्दछ भनेर दुःखका साथ सोच्दैछु ।”
यसैबीच राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सेली दक्षिणपन्थी नेता जीन–मारी ले पेन ‘ऐतिहासिक व्यक्तित्व’ थिए भन्दै उनको परिवारप्रति समवेदना व्यक्त गरेको राष्ट्रपतिको कार्यालय एलिसीले बताएको छ ।
“हाल नेसनल र्याली पार्टीका रूपमा रहेको दलका सह–संस्थापक ले पेन ‘दक्षिणपन्थको एक ऐतिहासिक व्यक्तित्व’ हुनुहुन्थ्यो”, एलिसीले एक संक्षिप्त वक्तव्यमा भन्यो, “फ्रान्सको राजनीतिक जीवनमा उहाँको भूमिकाको इतिहासले निर्णय गर्नेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लस एन्जलसमा डढेलोमा परी एक हजार भन्दाबढी घर जलेर नष्ट, पाँच जनाको मृत्यु

बीबीसी । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको डढेलोमा परी पाँच जनाको मृत्यु भएको

एआई क्षेत्रमा लगानी गर्दै माइक्रोसफ्ट

नयाँदिल्ली । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र

रक्षामा जिडिपीको ३ प्रतिशत खर्च ‘यथार्थपरक’ : चेक प्रधानमन्त्री

  प्राग । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई खर्च बढाउन आग्रह गरेको

वी नारायणन भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको प्रमुख नियुक्त

नयाँदिल्ली । भारतको सङ्घीय सरकारले वी नारायणनलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को