कोभिड खोप उत्पादनको नियम खुकुलो बनाउने अफ्रिका र भारतको प्रस्ताव विफल
कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुझ्न कोभिड खोप र सम्बन्धित मेडिकल सामग्री उत्पादनको विशेष अधिकारका नियम खुकुलो पार्न दक्षिण अफ्रिका र भारतले गरेको प्रस्तावमा सहमति जुटाउन विश्व व्यापार सङ्गठन असफल भएको छ ।
विकासोन्मुख देशहरूलाई आवश्यक खोप आफैँ उत्पादन गर्न सहज बनाउनेगरी अनुमति दिने सो प्रस्तावको उद्देश्य थियो । कुनै आविष्कारकले आफ्नो लगानीबाट प्रतिफल लिन सकून् भन्ने उद्देश्यले डब्ल्यूटीओका नियमानुसार सदस्य राष्ट्रहरूले उत्पादकका प्याटेन्ट तथा अन्य अधिकार सुरक्षित राख्नुपर्छ ।
महामारीको समयमा त्यस्तो नियम खुकुलो बनाउनुपर्ने प्रस्तावलाई ब्रजिलसहित कैयौँ धनी देशहरूले अस्वीकार गरेका थिए । डब्ल्यूटीओकी नयाँ महानिर्देशक नगोजी ओकोन्जो इवेलाले हालकै नियमको परिधिमा रहेर प्रविधि हस्तान्तरणको विकल्पमा जानसकिने सुझाव दिएकी छन् ।