नासाद्वारा पर्सिभिअरन्स अवतरण गर्दै गरेको अद्भुत भिडियो सार्वजनिक
अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले उसको पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडिओ सार्वजनिक गरेको छ । भिडियोमा गत साता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । त्यसमा रोबटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ ।
उक्त भिडियोमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिन्छ । पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको हो । उक्त यन्त्र जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो ।
पर्सिभिअरन्समा क्यामेराहरू बाँधेर पठाइएको थियो। तीमध्ये सात वटा क्यामेरा उसको अवतरणको रेकर्डिङका लागि खटाइएका थिए । ती क्यामेराका तस्बिरहरूले इन्जिनियरहरूका लागि महत्त्वपूर्ण सुझाव दिनेछन् । त्यसले उक्त रातो ग्रहको सतह अध्ययनका लागि थप प्रविधि सुधारमा सहयोग गर्नेछ ।
नासाको मङ्गल मिसनको नियन्त्रण केन्द्र रहेको क्यालिफोर्नियास्थित जेट प्रोपल्सन ल्याबरोटरीका निर्देशक माइक वाट्किन्स यी भिडियोहरूमा उक्त रोभरको कार्य हेरेर आफूहरूले केही कुरा सिक्ने बताउँछन् । त्यसमा जडान गरिएका क्यामेराहरूलाई मुख्य घटनाहरूको पूर्ण रेकर्ड गर्न सकिने गरेर राखिएको थियो ।
यो भिडियोले रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गर्ने अन्तिम सात मिनेटमध्येमा पनि सबैभन्दा पछिल्ला चार मिनेटको जानकारी दिएको थियो । उक्त ल्याबरोटरीका क्यामेराको काम हेर्ने नेतृत्वकर्ता डेभ ग्रुएलका अनुसार उनीहरूले मङ्गलको सतहमा अवतरण हुँदै गर्दाको ३० गिगाबाइट्स सूचना र २३ हजार वटाभन्दा बढी तस्बिरहरू सङ्कलन गरेका छन् ।
प्यारासुटतर्फ खिच्ने तीनमध्ये एक क्यामेरा असफल भए पनि अन्य ६ वटा क्यामेराहरूले कुनै पनि त्रुटीविना काम सम्पन्न गरेका थिए । नासाले अवतरणको आवाज पनि रेकर्ड हुने आशा राखेको भए पनि त्यो चाहिँ सफल हुन सकेन ।
यद्यपि उक्त समूहले सतहमा एउटा माइक सञ्चालन गर्न सफल भएकाले आगामी दिनमा पर्सिभिअरन्सको कामलाई सुन्न सकिने सम्भावना रहेको छ । एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ । छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो ।