मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष यान शुक्रवार अवतरण हुने
अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष वाहन नेपाली समयानुसार शुक्रवार बिहान २ः४० बजे मङ्गल ग्रहको सतहमा अवतरण गर्दैछ । छवटा पाङ्ग्रा भएको उक्त रोबट सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो । अब यो मिशनको सबैभन्दा कठिन चुनौती भनेको मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु हो ।
पर्सिभिअरन्स सफल भएमा यसले सो ग्रहमा पहिले जीवन भएरनभएको अध्ययन गर्ने अभूतपूर्व अवसर प्राप्त गर्नेछ । सो रोबट जेजेरो क्रेटर भनिने पहिले पानीको ठूलो ताल भएको अनुमान गरिएको स्थानमा ओर्लिने प्रयासमा छ । वैज्ञानिकहरूले त्यहाँ कुनै बेला धेरै पानी रहेको र सम्भवतः पानीमा कुनै प्रकारको जीव रहेको अनुमान गरेका छन् ।
मङ्गल ग्रहको पातलो वायुमण्डलमा प्रवेश गर्दा पर्सिभिअरन्सको गति २०,००० किलोमिटर प्रतिघण्टा हुनेछ । वायुमण्डलमा प्रवेश गरेको सात मिनेटमा यो गति हिँडाइको गतिमा झरेर यसले अवतरण गर्नुपर्नेछ ।
अहिलेसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन् । अमेरिकी प्रयास एक पटक मात्रै सन् १९९९ मा विफल भएको छ।