वेलायती नागरिकलाई फेरि लकडाउनको सामना गर्न तयार रहन स्वास्थ्यमन्त्री म्याटको आग्रह
बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि लकडाउन गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका छन् ।
स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा उनले राष्ट्रियरूपमा लकडाउन गर्ने अवस्था नआओस् भन्ने चाहेको तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि तयार रहनुपर्ने बताए ।
बेलायत महामारीको कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ र कोभिड–१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । गत अप्रिलदेखि थप सङ्क्रमितको सङ्ख्या उच्च रहेको थियो । यद्यपि बिचमा सङ्क्रमण पुष्टिका घटनामा निकै कमी आएको भएपनि पछिल्ला केही हप्तादेखि यो सङ्ख्यामा उच्च वृद्धि देखिएको छ ।
नर्दम्बरल्याण्ड, उत्तर र दक्षिण टाईनेसाइड, न्यूक्यासलको टाइन क्षेत्र, गेट्सहेड, र काउन्टी डरहममा २० लाख भन्दा बढी मानिसहरूलाई असर पार्ने सामाजिक दूरी कायमसहितका उपायका कडा विकल्पलाई लागू गरिएको छ ।