अमेरिकामा चीनविरुद्ध मुद्दा हाल्ने तयारी
अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ । मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले चिनियाँ सरकाले विश्वलाई कोभिड १९ को जोखिम र सङ्क्रामक गतिका बारेमा ढाँटेकाले मुद्दा हाल्ने तयारी गरेको बताए ।
मुद्दामा मानिसहरूको मृत्यु, उनीहरूको दुःख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ । चीनले विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको आरोप अस्वीकार गर्दै आएको छ । मिजुरीका अधिकारीहरूले उक्त मुद्दालाई ऐतिहासिक भने पनि अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन् ।
अमेरिकी अदालतहरूमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएका अवस्थामा चीनले यस्ता मुद्दाहरूबाट डराउनुपर्ने अवस्था नरहेको बताइएको छ । अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्राष्ट्रिय मञ्चहरूमा जानुपर्छ जहाँ चीनले पनि जवाफ दिने मौका पाउँछ । अमेरिकाले कोरोनाभाइरस महामारीका लागि चीनलाई दोष दिने क्रम बढिरहेको बेला यो मुद्दा दर्ता गराउने तयारी गरिएको हो ।
राष्ट्रपति डोनल्ड ट्रम्पले शुरूमा चीनले कोरोनाभाइरस नियन्त्रण गर्न चालेको कदमको प्रशंसा गरेका थिए । तर अमेरिकामा सङ्क्रमण र मृत्यु ह्वात्तै बढेर दबावमा आउपछि उनले चीनतर्फ औँला उठाएका थिए । यो वर्षको अन्त्यमा राष्ट्रपतीय निर्वाचन भएको अवस्थामा मिजुरीको मुद्दा र अन्य अमेरिकी कम्पनीहरूको मुद्दाहरू ट्रम्पको रिपब्लिकन पार्टीका लागि राजनीतिक अस्त्र हुन सक्ने विज्ञहरूले बताएका छन् ।