अमेरिकाले युद्ध रोजिरहेछः इरानी विदेशमन्त्री



इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या गरेर द्वन्द्वको बाटो रोजेको बताएका छन्।

एक अन्तर्वार्तामा उनले सुलेमानीको हत्या ‘युद्धकार्य’ भएको र त्यसयता अमेरिकी अधिकारीहरूले सार्वजनिक र व्यक्तिगतरूपमा ‘रूखो, मूर्खतापूर्ण र हठी’ सन्देश प्रवाह गरेको बताएका छन्।

उनलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भ्रमण गर्न प्रवेशाज्ञा दिन अस्वीकार गरेर अमेरिकाले सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालयको सहमतिको उल्लङ्घन गरेको छ।

इरानी विदेशमन्त्री जावाद जरिफको अन्तर्वार्ताको सम्पादित अंश:

के संयुक्त राष्ट्रसङ्घमा बोल्न जान तपाईँलाई भिसा दिन अस्वीकार गरिएको हो?

हामीहरूलाई महासचिवले त्यही भने तर विदेशमन्त्री पोम्पेओले भने आफूहरूसँग मेरो भिसा हेर्नको लागि पर्याप्त समय नभएको बताए। जबकि मेरो निवेदन सन् २०१९ मै भएको हो, सन् २०१९ को डिसेम्बरमा।

तपाईँले त्यसलाई कसरी हेर्नुभएको छ?

हेर्नुस् मैले तपाईँसँग यसलाई राष्ट्रसङ्घ मुख्यालय सम्बन्धी सम्झौताको उलङ्घन भन्न सक्थेँ। तर अन्तर्राष्ट्रिय कानुनको सम्मान नगर्ने, युद्ध अपराध गर्ने र सांस्कृतिक स्थलहरूमा हमलाको धम्की दिएर थप युद्ध अपराध गर्न खोज्ने—जुन युद्ध अपराध नै हो।

म उनीहरूबाट कुनै प्रतिबद्धतामा कायम रहने कुरा आशा गर्न सक्दिन। त्यसैले यो अनपेक्षित होइन।

तर मेरो प्रश्न चाहिँ उनीहरू किन डराए? भन्ने हो। म न्यूयोर्क पुगेर के नै गर्थेँ र?

तपाईँ एकजना अनुभवी कूटनीतिज्ञ हुनुहुन्छ र तपाईँलाई सबैखाले कूटनीतिक सम्पर्कको मूल्य थाहा छ, ती चाहे सामान्य रूपका हुन् वा पर्दा पछाडिका। के यसले के त्यसखाले संवादको महत्वपूर्ण ढोका बन्द गरिदिएको हो?

तपाईँसँग साँच्चिकै नढाटी भन्नुपर्दा मैले यो भ्रमणका बेला अमेरिकासँग कुनैखाले संवादमा संलग्न हुने आशा गरेको थिइँन। तर त्यसबेला म स्वतन्त्र विज्ञ समूहहरू, पत्रकारहरूसँग थप प्रस्ट्रताका लागि…

र हुनसक्छ तनाव मथ्थर पार्न। किनभने यो त डरलाग्दो समय बनेको छ।

मलाई लाग्दैन अमेरिकाले तनाव मथ्थर पार्ने बाटो समातेको छ।

अमेरिकाले थुप्रै मानिसहरू मारेको छ, निकै महत्वपूर्ण मानिसहरू नै, विदेशी भूमिमा इराकी र इरानी अधिकारीहरू दुवैलाई। यो युद्धकार्य हो।

यसले आन्तरिक र सार्वजनिक वृत्तमा दिएको सन्देश निकै रूखो, मूर्खतापूर्ण र हठी छ। त्यो आफैँमा तनाव बढाउने काम हो।

त्यसले इरानी जनतालाई त्रासमा पारेको छ। मलाई लाग्छ विदेशमन्त्री पोम्पेओले राष्ट्रपति ट्रम्पलाई गतल सूचना दिइरहेका छन्।

उनी त ठान्छन् तेहरान र बग्दादका सडकमा मानिसहरू नाचिरहेका छन्। उनले त ट्वीटरमा त्यसको सानो भिडियो पनि राखे। अहिले म विश्वस्त छु उनले हिजो बग्दाद र तेहरानमा मानव सागर देखे होलान्।

के इरान तनाव कम गर्नका लागि खुला छ? के तपाईँ तनाव अन्त्य गर्न चाहनुहुन्छ?

अमेरिकाले जे गरिरहेको छ त्यसले स्वभाविक रूपमा आफ्नो बाटो लिनेछ।

उसले पहिले इराकको सार्वभौमसत्ताको उलङ्घन गर्यो र त्यसको जवाफ इराकी संसद्ले दियो।

उसले यस क्षेत्रका धेरै मानिसहरूको भावनामा ठेस पुर्‍यायो- जसलाई रोक्नु इरानको काबुमा थिएन।

उसले थुप्रै इरानी नागरिक र अधिकारीहरूलाई मारेको छ। यो आतङ्वादी कारबाहीजस्तो युद्ध हो। इरानले त्यसको उपयुक्त कदम लिनेछ।

अमेरिकाले अब यसको नतिजाहरू व्यहोर्नेछ र मलाई लाग्छ त्यो सुरु नै भइसकेको छ। हाम्रो क्षेत्रमा अमेरिकी उपस्थितिको अन्त्य गर्ने काम सुरु भइसक्यो।

समाचारहरू अनुसार सर्वोच्च नेताले इरानी सुरक्षा परिषद्लाई इरानको जवाफ प्रत्यक्ष र समानुपातिक हुनुपर्ने र इरानी सेनाले गर्नुपर्ने बताएका छन्। के तपाईँ त्यसको पुष्टि गर्न सक्नुहुन्छ?

हामी कानुन मान्ने देश हौँ। हामीले जब कुनै कारबाही सुरु गर्छौँ राष्ट्रपति ट्रम्पले भने झैँ त्यो असङ्गत हुँदैन। ती वैध निसानाहरूमा हुनेछन्।

त्यसको अर्थ सैन्य हो?

ती वैध निसानामा हुनेछन्।

त्यसको अर्थ के हो त?

वैध निसानाहरूको सम्बन्धमा अन्तर्राष्ट्रिय कानुनहरू स्पष्ट छन्।

के तपाईँ मलाई जानकारी दिन सक्नुहुन्छ?

मलाई लाग्छ उनीहरू कानुनको शब्दकोशमा त्यो हेर्न सक्छन्।

यसको अर्थ तपाईँ इरानले समर्थन गरेका हेज्बुल्लाह जस्ता प्रोक्सी समूहहरूले आक्रमण नगर्न बताउँदै हुनुहुन्छ?

हाम्रा प्रोक्सी छैनन्। तपाईँले इराकको सडकमा देख्नुभयो होला कि हामीसँग मानिसहरू छन्, प्रोक्सी छैनन्।

हामीले ती मानिसहरूलाई नियन्त्रण गर्दैनौँ किनभने ती हाम्रा प्रोक्सी होइनन्। उनीहरू भावना भएका र स्वतन्त्र सोच राख्न सक्ने मानिसहरू हुन्। त्यसैले मैले भनेको हुँ उनीहरूले के गर्छन भन्ने कुरा इरानले नियन्त्रण गर्दैन।

त्यसोभए तपाईँ कुनै पनि प्रतिशोधका कारबाही आधिकारिक इरानी सेनाले गर्छ भनेर पुष्टि गर्दै हुनुहुन्छ?

मैले भनेको त्यहाँ तीन वटा उल्लङ्घन भएका छन्। इराकी सार्वभौमसत्ताको उल्लङ्घन, जसको जवाफ इराकी संसद् र सरकारले दिएका छन्।

मध्यपूर्व क्षेत्रका लाखौँ मानिसहरूको भावनाको उल्लङ्घन, जुन हाम्रो नियन्त्रणमा छैन। र, त्यहाँ केही वरिष्ठ सैन्य अधिकारीहरूसहित इरानी नागरिकहरूको हत्या।

त्यो हामी गर्छौँ र हामी जे गर्छौँ त्यो कुनै कायरतापूर्ण तरिकाले होइन तर स्पष्ट र सङ्गत तरिकाले गर्छौँ।

कहिले?

त्यो हामीले रोज्छौँ।

छिट्टै?

त्यो हामीले रोज्छौँ।

कासिम सुलेमानी धेरै नाम चलेका र शक्तिशाली सैन्य नेता थिए। उनलाई पश्चिमा जासुसी संस्थाहरूले लामो समयदेखि निगरानीमा राखेका थिए र हामीलाई के थाहा छ भने राष्ट्रपति ओबामा र बुस दुवैले उनलाई मार्न स्वीकृति दिएनन् किनभने उनीहरूलाई लाग्यो यसको नतिजा अमेरिकी र पश्चिमको सुरक्षामा मत्त्वपूर्ण हुनेछ। राष्ट्रपति ट्रम्पले आफूभन्दा पहिलेका दुई राष्ट्रपतिले नदिएको स्वीकृति दिए। यसले तपाईँलाई उनका बारेमा के बताउँछ? र सायद यसको अर्थ उनीसँग जोखिम मोल्ने क्षमता छ।

मलाई लाग्छ उनलाई यसले बग्दाद र तेहरानको सडकमा मानिसहरू नाच्नेछन् भनेर सोच्ने मानिसहरूले दिएको गलत सुझाव हो। उनले आफ्ना सल्लाहकारहरूका बारेमा सोच्नुपर्छ।

के उनी बुझ्नका लागि कठिन राष्ट्रपति हुन् किनभने उनी सन्की र अनुमान गर्न नसकिने खालका छन्?

अनुमान गर्न नसकिने खालका र सन्कीले त कानुनभित्रै रहेर काम गर्छन्।

अहिलेको समयमा अमेरिकी साम्राज्य कानुनविहीन छ, यो महत्त्वपूर्ण कुरा हो र मलाई लाग्दैन कि अमेरिकीहरू आफूले निर्वाचित गरेको व्यक्तिले कानुनविहीन तरिकाले कदम चालेको हेर्न चाहन्छन्।

अमेरिका कानुनी राज्य भएकोमा गर्व गर्छ न कि कानुनविहीन देशको रुपमा। सांस्कृतिक सम्पदाविरुद्धको असङ्गत प्रतिक्रिया म केवल उद्धृत गर्दैछु।

यदि इरान आफ्ना नागरिकहरूले खान पाउन भन्ने चाहन्छ भने उसले अमेरिकाको निर्देशन मान्नुपर्छ। यी भनाइ अमेरिकी अधिकारीहरूका हुन्।

तर यो युद्ध अपराधहरू हुन्, मानवीयताविरुद्धका अपराध। के अमेरिकी जनता आफ्ना प्रतिनिधिहरूले अमेरिकालाई यस्तो आपराधिक र कानुनविहीन तरिकाले प्रतिनिधित्व गरून् भन्ने चाहन्छन्

यो हाम्रो आवश्यकतामा भर पर्ने कुरा हो। तर हामीले भनेका छैनौँ कि हामी सीमाहरूको सम्मान गर्ने छैनौँ। हामीले भनेका हौं कि त्यहाँ आधारभूत सीमाहरू बाँकी छैनन्।

यी कदमहरू उल्टिन सक्छन् किनभने योबारे सबै पक्षले खुल्ला रुपमा छलफल गरेका हुन्। र अमेरिका त्यसबाट पछि हट्यो र युरोपेलीहरू पनि यसभित्रै वा बाहिर रहेर पनि आफ्ना सम्झौताहरू पालना गर्न विफल बने।

हामीले उपलब्ध गराइएको संरचनाबारे कानुनसम्मत तरिकाबाट, कानुनको परिधिभित्र रहेर, सहमतिभित्रै रहेर र उल्लङ्घन भएको अवस्थामा त्यसका उपायहरू सहमतिमा उल्लेख गरिए अनुसार नै चाल्ने भनेर यसबारे वक्तव्यमार्फत् होइन, लेखेर पाँचपटक जानकारी गरायौं। र उनीहरूले सम्झौतामा रहेर आफ्ना प्रतिबद्धताहरू पूरा गर्न थाले भने यी तत्कालै उल्टाउने पनि सकिन्छ।

त्यसैले जेसिपीओए सहमति सजीव छ किनभने यो एकदमै यथार्थपरक सम्झौता हो। तर तपाईँलाई थाहा छ को चाहिँ निर्जीव छ? अत्यधिक तनाव किनभने यो पटक पटक विफल भएको छ।

र अर्को निर्जीव भएको कुरा भनेको हाम्रो क्षेत्रमा अमेरिकाको उपस्थिति हो। मलाई लाग्दैन कि अमेरिकालाई यो क्षेत्रमा आफ्नो उपस्थिति राख्नु अब सम्भव छ।

धेरै विश्लेषकहरूले भनिरहेका छन् कि कासिम सुलेमानीको हत्याले इरानी शक्ति संरचनामा कट्टरपन्थीलाई मद्दत गरेको छ किनभने यसले गर्दा इरानी नागरिकको आफ्नो सरकारविरुद्धको आक्रोशलाई अन्यत्रै मोडिदिएको छ।

आज इरानीहरू एक हुन्। हामी सबै इरानी हौँ। यहाँ कोही कट्टरपन्थी छैनन् र कोही नरमपन्थी पनि छैनन्।

तर त्यसले तपाईँहरूको तनाव अन्यत्रै मोडिदिएको छ। र यसले तपाईँको तनाव कम गरेको छ।

हामी सबै इरानी हौँ जो आफ्नो देश बचाउन चाहन्छौँ, जो आफ्नो स्वाभिमान जोगाउन चाहन्छौँ र जसले शान्तिका लागि लडे उनलाई गुमाउँदा हामी शोकमा डुबेका छौँ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग

पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री भन्दा बढ्नबाट रोक्नका राष्ट्रसंघले थाल्यो विश्वव्यापी प्रयास

संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ ।

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू