युकेएफसीलाई हराउँदै एनआरटी बुढासुब्बा गोल्डकपको फाइनलमा
धरान । युकेएफसी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी फुटबल क्लब २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा बिहीबार भएको खेलको नवौँ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले गिदोन नहाको पासमा गोल गरेका थिए ।
त्यस्तै खेलको ४५औँ मिनेटमा र ७६औँ मिनेटमा एनआरटीका शिशिर लेखीको पासमा प्रदीप बुढाथोकीले गोल गरे । युकेएफसीका लागि हेमराज भुजेलले खेलको ३१औँ मिनेटमा सान्त्वना गोल गरे ।
आजको खेलको ‘म्यान अफ दी म्याच’ एनआरटी फुटबल क्लबका शिशिर लेखी घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । अब शनिबार उपाधिका लागि एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।