गण्डकी र बागमती प्रदेश राष्ट्रिय पुरूष बास्केटबलको फाइनलमा
कास्की । घरेलु टोली गण्डकी प्रदेश र बागमती प्रदेश पोखरामा सञ्चालन भइरहेको ‘पोखरा कप’ राष्ट्रिय पुरूष बास्केटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा मंगलबार सम्पन्न सेमिफाइनलका आ–आफ्ना खेल जित्दै दुबै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशमाथि ११६–१९स्कोरले जित हासिल गरेको हो ।
यता बागमतीले लुम्बिनीलाई ७८–३६ स्कोरले पराजित गर्दै उपाधि घरेलु टोली गण्डकीसँगको भेट पक्का गरेको छ । यस अघि लुम्बिनीले मधेश प्रदेशलाई सङघर्षपूर्ण खेलमा ७२–६९ को स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि तेस्रो र फाइनल खेल हुने गण्डकी प्रदेश बास्केटबल सङ्घका अध्यक्ष धोजकुमार गुरूङले जानकारी दिए ।
प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद एक लाख ११ हजार एक सय ११, उपविजेतालाई नगद ६६ हजार छ सय ६६ र तृर्तीय हुने टोलीलाई नगद ३३ हजार तीन सय ३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रदेश खेलकुद परिषद्का उपाध्यक्षसमेत रहेका सङ्घका अध्यक्ष गुरूङले बताए ।
गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा यही माघ ७ गतेदेखि सुरू भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश बाहेकका छ प्रदेशको सहभागिता रहेको थियो । पोखरामा सञ्चालन भएको यो प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछिको पहिलो राष्ट्रिय बास्केटबल प्रतियोगिता हो ।