सातदोबाटो युथ क्लब केपी ओली कपको सेमिफाइनलमा
काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपमा सातदोबाटो युथ क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गरे भने पुलिसका लागि प्रविन थापाले सान्त्वना गोल गरे । सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ ।
उक्त खेल शुक्रबार हुनेछ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार पाउनेछन् ।