वैकुण्ठ मानन्धर अन्तर विद्यालय दाैड प्रतियाेगिता भव्यताका साथ सम्पन्न
काठमाडौं । स्वस्थ्य रहि उर्जावान जिन्दगी जिउन ब्यायाम तथा खेलकुदको महत्वपूर्ण भूमिका रहेको हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आज दौड प्रतियोगिता सम्पन्न गरिएको छ । शान्ति निकुञ्ज माध्यमिक विद्यालयको २५ वर्षको शुभउपलक्ष्यमा शान्ति निकुञ्ज पूर्वविद्यार्थी संघ र वैकुण्ठ मानन्धर खेलकुद संघ नेपालको संयुक्त आयोजना तथा डा. खगेन्द्र स्पोर्ट्स फाउण्डेशनको सह–प्रायोजनमा ५ किलोमिटर दौडको आयोजना गरिएको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिएको हो ।
६५ वटा विद्यालयका २५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालकाे मेडिकल सहयोगमा प्रतियोगिहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल छात्रा र छात्रालाई प्रोत्साहन स्वरुप नगद पुरस्कार समेत प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले शिक्षा सँगै खेलकुद पनि उत्तिकै महत्वपूर्ण रहेकाे बताउँदै उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको छ । कार्यक्रममा वैकुण्ठ मानन्धर खेलकुद समाजका संरक्षक समेत रहनुभएका किर्तिमानी धावक मानन्धरले स्वस्थ जीवनको लागि खेलकुद महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रमको सह–आयोजक डा. खगेन्द्र स्पोर्ट्स फाउण्डेशनका संस्थापक अध्यक्ष डा. श्रेष्ठले भन्नुभयो, “अहिले ८७ वर्षको उमेरमा समेत विभिन्न संघ संस्थामा आवद्द भएर अझै सक्रिय जीवन बाँचिरहेको छु, यसको मुख्य कारण शारीरिक रुपमा म निकै सकृय रहँदै आएको छु ।” फाउण्डेसनका महासचिव तथा ब्लुक्रस अस्पतालका प्रबन्ध निर्देशक रजत कृष्ण श्रेष्ठले स्वास्थ्य तथा खेलकुद क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्याउन पाएकोमा गर्व रहेको बताउनुभयो । साथै आफु आवद्ध अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता खालका विभिन्न कार्यक्रम तथा स्वास्थ्य शिविर आयोजना गरि नागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेको समेत बताउनुभयो ।
वैकुण्ठ मानन्धर खेलकुद संघ नेपालका अध्यक्ष विवेन्द्रभक्त प्रधानांगले भविष्यमा वैकुण्ठ मानन्धरजस्ता कीर्तिमानी धावक उत्पादन गर्ने उद्देश्यले पहिलोपटक दौडको सुरुवात गरिएको बताउनुभयाे । साथै आगामी दिनमा समेत युवाहरूलाई प्राेत्साहन गर्नकाे लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।