व्यावसायिक कोदोखेतीतर्फ आकर्षित हुँदै बराहक्षेत्रका किसान



धरान ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् ।

स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए । अरु कृषिबालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएको आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ । ‘विगत १७ वर्षदेखि कोदोखेती गर्दै आएको थिएँ । पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु । व्यावसायिक रूपमा उत्पादन सुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ’, विश्वकर्माले भने ।

उनले कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भइरहेको सुनाए । विश्वकर्माका अनुसार कोदोबाट कतिपय किसानले घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गरेर लाखौँ आम्दानी गरिरहेका र त्यो नगर्नेहरूले पनि पारिवारिक उपभोग तथा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीमा जोड दिन छोडेर आफू पनि कोदो खेतीमा लागेको सुनाइन् । उनले भनिन्, ‘धान र मकैमा जत्ति दुःख गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन । रोग, किरा लागेर कहिलेकाही मेहनत त्यसै खेर जान्छ तर कोदोमा खासै त्यस्तो हुँदैन । पछिल्लो समय रोग लागेको छैन, उत्पादन राम्रो भएको छ । त्यसैले आम्दानी राम्रै हुने गरेको छ । एक कठ्ठा जग्गामा एक सय २० किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ । बिक्रीका लागि समस्या पनि हुँदैन । स्थानीय बजारलगायत इनरुवा, इटहरी, धरानमा बिक्रीका लागि पठाउने गरेकी छु ।’

किसान नारायण विक पनि १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आएका छन् । उनी मकै, धानलगायत खेती लगाउन छोडेर यस खेतीतर्फ लागेको पाँच वर्षभन्दा बढी भयो । ‘कोदोखेती गरेर पछुताउनुपरेको छैन । राम्रो आम्दानी भइरहेको छ । कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गर्दै आएको छु’, विश्वकर्माले भने, ‘कोदो बिक्रीका लागि इनरुवा, इटहरी, धरान जाने गरेको छु । प्रतिकेजी ७० देखि एक सयमा बिक्री हुन्छ । तोङ्बा बनाएर एक सय ५० मा एक तोङ्बा बिक्री हुन्छ भने कोदोको रक्सी एक बोतलको दुई सयमा घरैबाट बिक्री हुन्छ । त्यसैले कोदो उत्पादन गर्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।’ उनी कोदोखेती गर्ने किसानलाई स्थानीय तथा प्रदेश सरकारले आर्थिक अनुदान र प्रोत्साहन गर्नसके थप सहज हुने बताउँछन् । कम्तीमा बीउ मात्रै उपलब्ध गराए पनि किसानलाई सहयोग पुग्ने विश्वकर्माको भनाइ छ ।

हाल बराहक्षेत्र-६ मा मात्र १५ परिवारभन्दा बढी कोदोखेती गर्ने किसान रहेका छन् । स्थानीय अर्जुन विष्टले कोदोखेतीतर्फ राम्रो प्रगति भएको सुनाए । सुनसरीमा हाल चार सय ५८ हेक्टर क्षेत्रफलमा कोदोखेती हुदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या समग्रमा घट्नै गएको र त्यसले मूल्य वृद्धि हुँदा हाल यसमा लागेका किसानले राम्रो आम्दानी गरेको छ । ‘कोदोमा धुसिजन्य रोग लागेन भने सुनसरीमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । पछिल्लो समय कोदोबाट विशेष गरी घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्ने गरेकाले राम्रो आम्दानी भइरहेको हो’, सूचना अधिकारी श्रेष्ठले भने ।

धरान उपमहानगरपालिकाका वडा नं ४, ५, ६ र २० र बराहक्षेत्र नगरपालिकाका वडा नं १, ६ र ५ लगायतका ठाउँहरूमा बढी कोदोखेती हुने गरेको छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, टिप्टोफेन, एन्टिअक्सिडेन्टलगायतका थुप्रै तत्व पाइनाका साथै कोदोको पिठोको प्रयोगले मुटुसम्बन्धी रोग नियन्त्रणसँगै पेटलाई स्वास्थ्य बनाउने भएकाले यसलाई राम्रो बाली मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोप–२९ : नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण

काठमाडौँ । यही कात्तिक २६ गतेदेखि आगामी मंसिर ७ सम्म अजरबैजानको बाकु शहरमा

व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै

मन्थली (रामेछाप) । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज

सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी

वालिङ । वालिङका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट पाँच लाख आम्दानी

प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेसा संकटमा

इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको