उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै



म्याग्दी । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीय स्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ ।

लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयमा जानकारीमूलक सूचना पाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङ बोर्ड राखेको हो ।

एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, लो-घेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाको ४८ स्थानमा साइन पोष्टिङ, सूचना पाटी र होडिङ बोर्ड राखिएको जानकारी दिए।

“पर्यटकहरूले संकेत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज होस्, नहराउन र दुःख नपाउन भनेर साइनपोष्टिङ राखिएको हो,” उनले भने “गुफा, ताल, गुम्बा, दरबारलगायत ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीय स्थलको महत्त्व र विशेषता बुझ्नका लागि नक्सासहितको सूचना पाटी राखेका छौँ ।”

स्थानीय स्तरमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण, मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गराउन सावधानी अपनाउन सन्देश प्रवाह गराउने र पर्यटकलाई जानकारी गराउने उद्देश्यले हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेलीलगायत जनावरका बारेमा होडिङ बोर्ड राखिएको छ ।

अग्ला, नांगा र उजाड पहाड पार गरेर छरिएका मानव बस्ती तथा पर्यटकीय, धार्मिक र प्राकृतिक स्थल जाने क्रममा पर्यटकले बाटो बिराएर भनेको भन्दा अन्यत्र पुग्ने, घुमाउरो बाटो हिँड्नुपर्ने र दुःख पाउने समस्या न्यूनीकरणका लागि सडक र पदमार्ग छेउछाउमा ‘रेञ्जिङ पोल’ र साइनपोष्टिङ राखिएको एक्यापका प्रमुख प्रमोदराज रेग्मीले बताए।

उपल्लो मुस्ताङको दामोदर कुण्ड पुगेर फर्केका म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ का गणेश गुरुङ (सुरेन)ले उचाइ, गन्तव्यमा पुग्न लाग्ने दूरी, समय र त्यहाँको विशेषता उल्लेख भएको सूचना पाटी तथा साइनपोष्टिङले सहज बनाएको बताए । अझै धेरै ठाउँमा साइनपोष्टिङ, सूचना पाटी र होडिङ बोर्ड राख्नुपर्ने उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा समेटिएको उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघरका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदर कुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिक स्थल छन् । मौलिक संस्कृति, रहनसहन, जीवनशैली र पृथक् भूगोल पनि यहाँका आकर्षण हुन् ।

सन् २०२३ मा तीन हजार चार हजार ८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । विदेशीको तुलनामा पछिल्लो समय उपल्लो मुस्ताङमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।

अर्धनिषेधित क्षेत्र घोषणा भएको लोमान्थाङ, लो-घेकर दामोदर कुण्ड गाउँपालिकाको पूरै र वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ मा पर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु. ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ ।

निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन अपेक्षित रूपमा बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

बाँके । कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

भक्तपुर । आश्विन शुक्ल पूर्णिमाको अवसरमा बुधबार राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया

लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा

  ललितपुर । ललितपुर महानगरपालिका–१ को सहयोगमा आयोजित इन्द्रजात्रा लाखे नाच नाचेर आज

१२ जिल्लाका सिडिओसहित गृह मन्त्रालयका ३६ जना कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित ३६ कर्मचारीको सरुवा गरेको छ ।