नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसँैअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा र डुम्रेस्थित पुल दसैँं अघि सञ्चालनमा आउनेगरी काम अघि बढाइएको हो । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभानस्थित पुल असार महिनादेखि सञ्चालनमा आएको छ ।

उनले भने, “सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहमा कालोपत्र गर्न बाँकी छ । वर्षातका कारण केही ढिलो भयो, दसैँअघि  काम सम्पन्न हुन्छ ।”

आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । वर्षात्सँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको हो । बाँकी १२ मध्ये १० पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको आयोजना प्रमुख कार्कीले बताए ।

पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु गरिएको छैन । पुलको मुखमा बसेकालाई मुआब्जा वितरणसँगै खहरे खोलाको पुलको काम थालिएको छ । जगको काम सकिएको छ । यी दुई पुल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो ।

आयोजना प्रमुख कार्कीले भने, “जलविद्युत् कम्पनीमासमेत विस्फोटका सामग्री आउन थालेकाले दसैँपछि यो पुल निर्माणस्थलको भित्तो विस्फोट गर्न सकिएला । यससँगै कामलाई तीव्रता दिएर यसै वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्ने योजना छ । पुल निर्माणका क्रममा २४ घरको मुआब्जा दिनुपर्ने भएकाले काम रोकिएको थियो । ”

ती घर हटाउन ९७ लाख आवश्यक पर्नेमा ७० लाख निकासा गरी १६ परिवारलाई मुआब्जा दिएर हटाइएको छ । बाँकी छ परिवारलाई छिट्टै दिइनेछ ।

एक जनाले मुआब्जामा चित्त नबुझेर रकम बुझेका छैनन् भने अर्का एकजनाले यस अघि नै मुआब्जा लिएर पुनः सोही ठाउँमा बसेको बुझिन आएकाले अध्ययन हुँदैछ । पुलको मुखमा बसेकालाई मुआब्जा दिएर हटाउन लागिएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये चार पुल अघिनै निर्माण भई सञ्चालनमा आइरहेका छन् ।

आयोजना प्रमुख कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरिएको एक वर्षको समय यही विसं २०८० को पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएकामा निर्धारित समयमै काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो ।

पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ । केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । सो सडकको चौडाईसमेत नौदेखि ११ मिटर फराकिलो छ ।

यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छन् । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक पर्दछ । केही वर्षअघि सडक विस्तार गरिएपछि सडक फराकिलो बनाइएको हो। तत्कालीन समयमा काटिएको भित्तोका कारण कतिपय ठाउँमा पहिरो खसेर दुःख दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

सर्वोच्चद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ