कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो



रामपुर (पाल्पा) । हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका छन्, युवा तुलबहादुर थापाले । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन ।

पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थालेका छन् । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो ।

भारतीय सेनामा करिब २४ वर्ष काम गरेका थापाले सन् २०२१ मा अवकाश लिएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थालेका हुन् । उनले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताए । थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हालेक हुन् ।

गाउँको भिरालो जमिनमा व्यवस्थित तारजालीले चारैतिर बारबन्देज गरेर दीर्घकालीनरूपमा सञ्चालन गर्ने अठोटका साथ उनी हिजोआज व्यवसायमा व्यस्त छन् ।

स्थानीय जातका पाँच सय कुखुरा र एक सय ७५ कालिजबाट व्यवसाय सुरु गरेका थापाले करिब नौ महिनामा राम्रै आम्दानी गरेका छन् ।

हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले आठ सय, पोथी सात सय र कालिज एउटाको दुई हजार पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ । बजार भाउ राम्रो, स्थानीयस्तरमा पनि धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ छ ।

थापाले कालिजका लागि भिरालो रुख, बिरुवासहितको चारैतिर तारजालीले घेरिएको खुला संरचना तयार पारेका छन् । यसले चरनका लागि, खेल्न, डुल्न धेरै सजिलो परेपछि छिटो बिक्री गर्न लायकको हुने उनी बताउँछन् ।

“स्थानीय कुखुरा, कालिज झट्ट नपाइने हुँदा माग बढ्दो छ, ग्राहकको मागलाई ध्यानमा राखेर व्यवसायलाई बढाउने सोच बनाएको छु”, उनले भने, “कालिज, स्थानीय कुखुरामा ग्राहकको सौख बढी रहेकाले ठूलो सङ्ख्यामा पालेर यस क्षेत्रको बजार धान्ने लक्ष्य लिएर व्यवसायमा लागेको छु ।”

महँगो भए पनि हिजोआज कालिजमा धेरैको आकर्षण बढ्दै गएकाले बुटवलबाट चल्ला ल्याएर फार्ममा हुर्काएर बिक्री गर्दा राम्रो कमाइ भएको थापा बताउँछन् ।

उनले एउटा कालिजको चल्ला तीन सय ८० मा खरिद गरेर ल्याएका हुन् । घरमै लगेर बिक्री गर्ने सुविधाले उनलाई ग्राहकको माग धान्न मुश्किल भएको छ । थापाले रामपुर क्षेत्रका ग्राहकको मागलाई पुर्याउने गरी तीन हजार पाँच सय कालिज पाल्ने तयारीसहित फार्म व्यवस्थित गर्दैछन् ।

“स्थानीय उत्पादनमा फरक स्वाद पाइने र स्वास्थ्यका लागि राम्रो हुने भएकाले हिजोआज स्थानीय कुखुरा, कालिज खरिद गर्ने धेरै छन्, व्यावसायिक फार्म कम छन्, गाउँको जग्गाको सदुपयोग, व्यवसायबाट आम्दानी हुने, समय बिताउने माध्यम गज्जब लागिरहेछ”, उनले भने ।

यस व्यवसायसँगै सौखका रूपमा खरायो, लौकाट पनि पालेका छन् । फार्ममा हाल नौवटा ठूला र १० साना खरायो र छवटा बाख्रा छन् । समथर भागदेखि माथिल्लो बस्ती हावापानी उपयुक्त हुने भएकाले गाउँमै व्यावसायिकरूपमा कुखुरा र कालिजपालनमा लागेको थापाले बताए ।

कुखुराको तुलनामा रोग कम लाग्ने र दाना कम चाहिने भएकाले कालिजबाट धेरै कमाउन सकिने उनले अनुभव बटुलेका छन् । अब कालिजलाई थप गरेर यस क्षेत्रलाई कालिज हबका रूपमा विस्तार गर्ने योजना छ ।

पन्ध्र दिनको चल्ला हुर्काएपछि चल्ला हुर्काउन कठिनाइ नपर्ने उनको भनाइ छ । यस व्यवसायमा करिब आठ लाखको लगानी परेको छ । यस क्षेत्रमा नयाँ व्यवसाय भएकाले अवलोकन जाने, खरिद गर्न जानेको चहलपहल छ ।

कुखुराको अण्डाबाट चल्ला निस्कन १८ देखि २२ दिन, कालिजको २५ देखि २६ दिनको समय लाग्दछ । चल्ला निस्केको करिब छदेखि सात महिनामा बेच्न लायकको हुने हुँदा पनि राम्रोसँग पालनपोषण गरे छिटो फाइदा दिन सकिने व्यवसायी थापाले बताए ।

वर्षौंदेखि  बाउबाजेले भोगचलन गर्दै आएका गाउँका पाखापखेरा छाडेर सहर पस्ने क्रम बढ्दो रहेको अवस्थामा थापाले गाउँमै बसेर गरेको यस व्यवसाय सबैका लागि उदाहरणीय बनेको समाजसेवी सन्दीप राना बताउँछन् ।

उनी भन्छन्, “युवा विदेश जाने, घरपरिवारका सदस्य सहरबजार आसपासमा गाउँ छाडेर कोठा भाडामा बस्ने चलन बढ्दो छ, यसले गाउँ पछिल्लो समय रित्तिँदै गएको छ, गाउँको रमणीय वातावरणमा बसेर पशुपक्षीपालन, तरकारी खेती, होमस्टे (घरबास) सञ्चालन गरेर महिनामा लाखौँ कमाउन सक्ने प्रशस्त आधार छन् ।”

रानाले गाउँका जग्गा सदुपयोग गरी केही नयाँ उद्यम, व्यवसाय गरेर आयआर्जन बढाउन युवालाई उत्प्रेरित गर्दैआएका छन् । विकासको नयाँ योजना बनाएर काम गरियो भने गाउँ छाडेर अन्यत्र बसाइँ गएका स्थानीय पुनः आफ्नै पुख्र्यौली थलोमा फर्कने राना बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

  काठमाडौँ । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा

काभ्रेका विभिन्न पालिकाबाट ८३ जना बाढीपीडितको हेलिकप्टरबाट उद्धार

  काठमाडौँं ।  गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । लगातार