‘मूल्य, मान्यता र आदर्शलाई त्यागेर कुनै प्रस्तावमा सहमति गर्दिनँ’
दाङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताएका छन् ।
मंगलबार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको उम्मेदवारबारे आफू र आफ्नो पार्टीले केही नसोचेको बताएका हुन् । उनले राजनीतिक पदहरूको बाँडफाँटमा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताए । उनले भने, ‘चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन ।’
उनले गत मंसिर ४ गतेको चुनावअघि नै तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग भने आफूले राष्ट्रपतिबारे कुरा गरेको बताए । उनले मूल्य, मान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता नगर्ने बताए ।