जय नेपाल र नक्साल भगवती चोकमा ट्राफिक लाइट जडान
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ । महाशाखाले जय नेपाल चोक र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।
नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र वडा नम्बर एकका वडाअध्यक्ष भरतलाल श्रेष्ठले स्वीच अन गरी संयुक्त रूपमा उद्घाटन गरेका हुन भने नक्साल भगवतीको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र कुमारी वैङ्कका चिफ अप्रेशन अफिसर रामचन्द्र खनालले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए ।
महाशाखाले हालसम्म उपत्यकाका मुख्य मुख्य ३४ वटा चोकमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा लाइटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले अनुरोध समेत गरेको छ ।