नेपाली महिला टोली पहिलोपटक अन्नपूर्ण हिमालको चुचुरोमा



काठमाडौं । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा शुक्रबार  पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । काठमाडौँको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत उनीहरु गत चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर अन्नपूर्ण आरोहणमा गएका थिए ।

सेभेन समिट ट्रेकिङ का अध्यक्ष निग्मा शेर्पाले पूर्णिमालगायत छ नेपाली महिला पर्वतारोही टोलीले शुक्रबार दिउँसो १ः३० बजे अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । “अन्नपूर्ण प्रथम हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्”, उनले भने “जोखिमयुक्त र कठिन मानिने अन्नपूर्णमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।”

टोलीमा पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमासहित दावा याम्जुङ शेर्पा, दावा फुटी शेर्पा, माया शेर्पा, पासाङ ल्यामु शेर्पा र शर्मिला तामाङ सहभागी थिए । पथप्रर्दशक पेम्बाको सहयोगमा उनीहरुले अन्नपूर्ण आरोहण गरेका हुन् ।

पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमालको आरोहण गरेकी थिइन् । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन् १९५० जुन ३ तारेखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए ।

अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानवपाइला परेको जेठो हिमाल हो । पूर्णिमाको टोलीको नाममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोहीको किर्तिमान बनेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

“पूर्णिमाको टोली म्याग्दीको नाच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको प्रयोग गरेर आरोहणमा जाने पहिलो टोली पनि हो”, उनले भने, “मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुँदै आधार शिविरलाई पदमार्गले जोडेर पर्वतारोही भित्राउन थालेका छौँ ।”

सो टोलीलाई अन्नपूर्ण आरोहणका लागि गण्डकी प्रदेश सरकारले आठ लाख, गाउँपालिकाले चार लाख, गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगतरुपमा एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामाकरण, नक्साङ्कन, पूर्वाधार निर्माण र प्रर्वद्धन शुरु गरेको छ । अन्नपूर्ण प्रथमको आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको सङ्ख्या असाध्यै कम छ । यसअघि आरोही हेलिकप्टरबाट आधार शिविर जाने गरेका थिए । मुस्ताङको कुञ्जो हुँदै आधार शिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो । विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । नारच्याङबाट तेस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ ।

पर्यटन विभागले दुई करोड बढीको लागतमा हुमखोलादेखि आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गर्न शुरु गरेको छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको सङ्ख्या कम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।