पहिला घुस दिएर पछि बयान फेर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिने व्यक्तिलाई पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतलाई ३७ लाख ५० हजार रुपैयाँ घुस दिएको आरोपमा झापाको विर्तामोड नगरपालिका– ६ बुट्टाबारीका उमानाथ खतिवडाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनले झापाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण तथा थप कामको लागि कार्यालय प्रमुख बस्नेतलाई घुस दिएका अख्तियारले जनाएको छ । खतिवडालाई अख्तियारले बस्नेतविरुद्धको मुद्दामा साक्षीका रुपमा प्रयोग गरेको थियो ।
तर उनले विशेष अदालतमा बयान दिँदा अख्तियारलाई फाइदा नहुने गरी बयान दिएकाले उनीविरुद्ध पनि मुद्दा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।