चिटिक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । सरकारले भदौ एक गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने निर्णय कोरोना संक्रमण बढेसँगै भदौ १५ गतेसम्मलाई स्थगित गरेको छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने तयारी अवस्थामा राखिएको छ । सामाजिक दूरी कायम राखी त्यसै अनुसारको सेवा दिन र यात्रुलाई सोही अनुसार राख्न विमानस्थल तयारी अवस्थामा राखिएको हो ।
वायु सेवा संचालक संघले पनि अब भदौ १६ गतेदेखि चाहिँ उडानको अनुमति दिन सरकारलाई आग्रह गरेको छ । संघले अब पनि उडान स्थगित गरे आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ । कोरोना संक्रमणका कारण करिव पाँच महिनादेखि उडान नहुँदा व्यवसायीले अर्बौको घाटा बेहोरिसकेका छन् ।