हाम्रो दर्शन खोइ ?



डा. गोविन्दशरण उपाध्याय

१. आज विश्वदर्शनशास्त्र दिवस सन् २०१९ | विशेष गरेर मजस्तो दर्शनशास्त्र पढाएर/पढेर जीवन यापन गर्ने व्यक्तिको लागि पर्व नै हो | विश्वभरी दर्शनशास्त्रसंग सरोकार राख्नेहरूले आ-आफ्नो तवरले दर्शनशास्त्र दिवस मनाउने गर्छन् | आज ५ नेपाल प्रज्ञा प्रतिष्ठान र ८ गते त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्र दिवस वारे परिचर्चा हुँदैछन् | दर्शनशास्त्र दिवस सन् २००२ बाट युनेस्कोको आयोजनामा मनाउनुपर्छ भन्ने निर्णय संयुक्त राष्ट्रको सभाले गरेको थियो |

२. आज दर्शनशास्त्रको अध्ययन/अध्यापन को स्थिति राम्रो छैन | विश्वभरि नै दर्शनशास्त्र पढ्ने र पढाउनेहरू घटेका छन् | नेपालमा सन् १९१८ देखि त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्र विषयको अध्यापन गरिंदै आएको छ | स्नातकतहसम्मको अध्यापन गराएर त्रिविविले झारा टार्ने काम गरिरहेको छ | त्रिविविबाट दर्शनशास्त्र विषय लिएर वीए पास गरेका विद्यार्थीहरूले एम.ए. कहाँ गएर पूरा गर्लान् ? भन्ने चिन्ता विगत एकसय एक वर्षदेखि नेपाली शिक्षाविद्हरूलाई लागेको देखिएन |

३. विश्वभरी करिव ३५ हजार विश्वविद्यालयहरूमा दर्शनशास्त्र विषयको अध्ययन/अध्यापन हुन्छ | अन्य विषयहरूका तुलनामा यो विषय पढ्ने विद्यार्थीको सङ्ख्या निकै थोरै छ तर जतिले पढ्छन्, तिनमा धेरैजसो सफल पत्रकार, प्रवचनकार, राजनैतिक व्यक्तित्व, परामर्शदाता, धर्मगुरू, चिन्तक, सिद्धान्त अभिनिर्माताका रूपमा प्रतिष्ठित भएका छन् |

४. हामी दर्शनशास्त्रका विद्यार्थीका अगाडी मूलत: पांचबटा परम्परागत जिम्मेवारी हुन्छन् (१) सत्यको खोज गर्नु र तेसमा स्थिर रहनु (२) आफ्नो ज्ञानको प्रयोग सहीतवरले प्रयोग गर्ने मानदंड निर्धारण गर्नु (३) तर्कमा उपस्थित ब्यबहारिक असत्यलाई परिमार्जित गर्नु (४) नैतिक दायित्व र सीमाहरूको अधिकतम मान्य आधारहरू स्थापित गर्न सुझावहरु प्रस्तुत गर्नु र (५) जीवनका वास्तविक मूल्यहरू भन्दा काल्पनिक मूल्यहरूप्रति बढ्दो आकर्षणलाई मन्थर परेर “वास्तविक-मूल्य”हरूप्रति उत्तरदायी बन्न अभिप्रेरित गर्नु | एस वाहेक धेरै नया जिम्मवारीहरू पनि थपिएका छन् र थपिंदै जाने क्रम चलिनै रहने छ |

(५) एउटा दर्शनशास्त्रको विद्यार्थी भएको नाताले आफैसंग मेरा धेरै प्रश्नहरू छन् |

(६) एउटा संयोग नै भन्नुपर्छ सहअस्तित्व, सहभोजन, सहकार्य, स्वीकृति, सहृदयता, आतित्थ्य, समावेशीपन र सधैं शान्तिको लागि उद्योग गर्ने ऋषि मुनि र शान्तिका दूत बुद्ध जन्मेको देशमा सर्वहारा वर्गको समुचित उत्थान गर्ने, अधिकारहरू खोसेर मात्र समानता स्थापित हुन्छ भन्ने र हिंसा नै प्रगतिको वास्तविक बाटो हो भन्ने मान्यता राख्ने अर्थ-दार्शनिक कार्लमार्क्सले प्रतिपादन गरेको राजनैतिक सिद्धान्तमा विश्वास गर्ने राजनैतिक शक्ति सत्तामा कायम छ | नेपालमा हिंसा र शान्ति एकठाउँमा उभिएका छन् | सैद्धान्तिक रूपमा बुद्धको अहिंसा, शान्ति, महानिर्वाणलाई सान्दर्भिकतालाई कार्लमार्क्सको हिँसा, द्वन्द र असहिष्णुताले लिएको छ | शान्ति र अहिंसा प्रधान इतिहासलाई हिंसाले विस्थापित गरेको छ |

(७) अहिलेको नेपाली समाज तीब्रतर भौतिक उन्नतिका लागि ब्यग्र छ | विश्वको भौतिक उन्नतिको मानदंड हेर्दा यो स्वाभाविक पनि छ | सकारात्मक परिवर्तनका नाममा धेरै विदेशी सिद्धान्तहरूलाई नेपाली समाजले अङ्गिकार गरेको छ | अर्को शब्दमा, नेपाली समाज र राजनीति दूवै विदेशी सिद्धान्तहरूको प्रयोगशाला बनेको छ | खासगरि पश्चिमामा विकास भएको “प्लेटोको एकेडमी”का आधारमा विकास भएको शैक्षिक मानसिकतामा आफ्नो रैथाने “उपनिषदीय एकेडमी” लगभग विलुप्त भएको अवस्था छ | आफ्नो इतिहासमा गौरव गर्ने भन्दा विदेशी सिद्धान्तमा गौरव गर्नेहरू श्रेष्ठ ठहरिन थालेका छन् |

(८) प्राचीन इतिहासको जगमा आधुनिक समाजको निर्माण भएको हुन्छ | नेपालको आधुनिक समाज जर्मन वा युरोपेली इतिहासका जगमा निर्मित भएको होइन | आधुनिक नेपाली समाजको निर्माणमा युरोपेली इतिहासको एकरत्ति योगदान छैन | सन् १७०० पछि मात्र युरोपेली चिन्तन नेपालमा प्रवेश गर्न आरम्भ गरेको हो | अहिले स्थिति उल्टो भएको छ – हाम्रो हार्डवेयर नेपाली छ सफ्टवेयर विदेशी भन्न मिल्छ | जसले स्वदेशी सफ्टवेयर कुरा गर्छ त्यो व्यक्ति वा समुह “अप्रगतिशील, पश्चगामी, पुरातनपन्थी”का रूपमा तिरस्कृत गरिन्छ | विदेशी प्रतिमानका आधारमा स्वदेशीको आलोचना गर्नेहरू प्रगतिशील तथा विद्वान ठानिन्छन् |

(९) प्लेटो एकेडमीको जगमा युरोपेली समाज उभिएको छ भने नेपाली समाजको जग उपनिषदीय एकेडमीको जगमा उभिनु स्वभाविक हुन्छ | एकेश्वरवादसंगै बहुलेश्वरवाद, स्वीकार्यता, शान्ति, सहकार्य, गुरुशिष्य प्रणाली, तपस्या, त्याग, दान, निराभिमान, राज्यराष्ट्रआदि हाम्रो समाजका मौलिकता हुन् | जहाँ प्लेटो एकेडमीले “एकवाद, भोगवाद, व्यक्तिवाद, अस्वीकृति, व्यक्तिगत उत्थानका लागि उद्योग र राष्ट्रराज्यलाई मान्यता दिन्छ | सन् १९५१ पछिको नेपाली समाजलाई प्लेटोले थिच्न थालेको छ भने उपनिषदीय एकेडमीबाट उम्किन सकेको छैन | अहिलेको नेपाली समाज प्लेटोभित्र रहेर (बाइबलीय एकेश्वरवाद वा मार्क्सको अनन्य साम्यवाद) उपनिषदीय बहुलवादको अभ्यास गर्न चाहन्छ | फलत: सैद्धान्तिक र ब्यबहारिक किम्कर्तब्य-विमूढतामा जेलिएको छ |

(१०) हालै भारतको वनारस हिन्दू विश्वविद्यालयको हिन्दू कर्मकाण्ड विभागमा एकजना मुस्लिम प्राध्यापक नियुक्त गरिएपछि एउटा नयाँ वहस आरम्भ भएको छ | एउटा मुस्लिम हिन्दू वा बौद्ध दर्शनको प्रकाण्ड विद्वान हुनसक्छ तर कर्मकाण्ड हिन्दूहरूको जीवनशैली हो | आफ्नो जीवनमा मस्जिद जाने, नमाज पढ्ने, मूर्तिपूजाको घोर विरोध गर्ने तथा महिलाहरूलाई “वुर्का”मा थुनिनुपर्छ भन्ने मान्यता भएकाले रुद्राभिषेकको ज्ञान कसरी पुस्तान्तरण गर्लान्, देवीको मूर्ति (बूर्का नभएको) कसरी पूजा गर्ने ब्यबहारिक ज्ञान देलान् भन्ने वहस छेडिएको छ | धर्मकर्ममा विश्वास नगर्नेहरूका लागि एस्तो निर्णय उदारवाद वा धर्मनिरपेक्षताको मीठो फल होला तर धर्मकर्ममा विश्वास गर्नेहरूका लागि एउटा त्रासदी नै हुनेछ | अचम्मको कुरा त के भने एस्ता कार्यको समर्थनमा धर्मकर्ममा विश्वास नगर्नेहरू नै अगाडी हुन्छन् | तेहा पनि यही देखिएको छ |

(११) विश्वका हरेक ठाउँबाट असल विचार तथा वस्तुहरू स्वीकार्नु पर्छ र तेसको सम्मान गर्नुपर्छ | महात्मा कार्लमार्क्सले विश्वलाई धेरै कुरामा गुण लाएका छन्, तेस्तै अन्य विद्वानहरूको पनि योगदान छ | समस्या केवल महात्मा गान्धी र मार्क्समात्र विकल्परहित छन् भन्ने चिन्तनमा छ | अपूर्णता र पूर्णता जीवनका सापेक्ष विषय हुन् | महात्मा मनुले भनेझैं “स्वं स्वं चरित्र शिक्षेरन् पृथ्वीब्याम् सर्वमानवा” जस्तो उदार सोच सभवत: हामीले विश्वलाई दिन सक्छौं | एस्तो उदारता सम्भवत: हिन्दू सनातन धर्ममा वाहेक विश्वको कुनै पनि धार्मिक, सामाजिक, सांस्कृतिक जीवनशैलीमा छैन |

(१२) समस्या त हाम्रो सांस्कृतिक तथा ब्यबहारिक जीवनशैलीमा पनि छ | यदि हाम्रो इतिहास एत्ति नै उदार तथा स्वीकार्य हुन्थ्यो भने हाम्रो देश १००% शिक्षित हुनुपर्थ्यो | सामाजिक तथा सांस्कृतिक रूपमा भेदभाव रहित हुनुपर्थ्यो | उंचनीचको आधारमा जीवनशैली विभाजित हुनुहुन्नथ्यो र आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक इतिहास विध्वंस हुँदै गर्दा टुलुटुलु हेरेर वस्ने अवस्था सृजित हुँदैनथ्यो | केवल इतिहासको गौरवलाई सम्झेर आत्मरातिमा रमाउनुको कुनै औचित्य छैन | हामी भन्दा विश्व अगाडी बढी सकेको छ | विश्वले अव हामीलाई कुर्ने वाला छैन |

(१३) सिद्धान्तहरूको जड उसको इतिहासमा कोरिएको हुन्छ | हाम्रा ऋषिमुनिहरूले रचिदिएका असंख्य शास्त्रहरूमा आधुनिक विश्वलाई “प्रतिद्वन्दात्मकता”को त्रासदीबाट जोगाउने सिद्धान्त प्रदान गर्न सक्छ | २५ हजार टनका वमहरू माथि उभिएर कुनै पनि मान्छे शान्तिले निदाउन सक्दैन | अमेरिकी, रसियन, युरोपेलीहरूले रचेको विश्वको मृत्यु जहिले पनि घटित हुनसक्छ | पश्चिमाहरूसंग विश्व विध्वंस गर्ने सिद्धान्त छ तर सुरक्षा दिने कुनै सिद्धान्त छैन | सत्य तीखो हुन्छ तर विश्वको ६०% सुखसाधनहरू उपयोग गर्ने अमेरिकीहरूका तुलनामा ०.३% साधनमा दुख भोग्ने नेपाल बढी सुरक्षित छ | हामीले शक्तिशाली हुनुको अर्थ नै परिवर्तन गर्न सक्छौं |

(१४) हामी नेपालीहरूको जस्तो उदारसोच र ब्यबहार युरो-अमेरिकीको भैदिएको भए विश्वको अनुहार नै अर्को हुन्थ्यो | प्लेटोले प्रतियोगिता गर्न सिकाए तर “सवै आफैमा पूर्ण छन्” भन्ने मनुको शिक्षालाई वेवास्ता गरियो | मान्छेको सुखको लागि पर्यावरणसंग बलात्कार हुँदैछ | आर्थिक सम्पन्नता प्राप्तिका लागि “आर्थिक युद्ध” लड़िदै छ | मान्छेलाई केवल मान्छेको तेसमा अनि आफ्नो नीजि स्वार्थपूरा गर्न सक्ने रोबटमा रुपान्तरण गरिंदै छ | मूल्यहरू केवल मानवमुखी भएका छन् | अन्य जीवनको मूल्य अपहरित गरिएको छ | बुद्धको ब्याख्या गर्न मार्क्सलाई खटाईको छ | नेपालमा ठ्याक्कै यही भैरहेको छ |

(१५) हामीसंग पूर्खाले रचेको अतुलनीय वाग्मय भण्डार छ | हामीसंग विश्वविद्यालयहरू छन् | हामीसंग विद्वानहरूको कमी छैन | हाम्रा विश्वविद्यालय र सरकारहरूले आफ्नो मौलिकतामा विश्वास गरिदिए पुग्छ |  विद्वानहरू कपिकलम बोकेर प्राचीन बांग्मयमा डुबुल्की मार्न तयार छन् | जनशक्ति पुगेन भने चार-पांच वर्षभित्र नै निर्माण हुनसक्छ | सहयोग, सहकार्य, विश्वास, सहृदयता र स्वाभिमान यी हाम्रा आफ्ना संस्कार हुन् भने अव यी संस्कारहरू विश्वका लागि पथप्रदर्शक सिद्धान्त बन्नुपर्छ | हाम्रो दृष्टिकोणमा विश्व उभिनुपर्छ र उभिन्न्छ | हाम्रो आत्मविश्वासले एसको लागि तयारी गर्नुपर्छ |

(१५) जीवन जगतको ब्याख्या गर्ने आजको पर्वमा हामीले प्रतिज्ञा गर्नुपर्छ – हामीले पराई-सिद्धान्तहरूको सम्मान गरेका छौँ अव हामी आफ्नो इतिहासभित्र छिरेर “सिद्धान्त-अभिनिर्माण”को बाटोमा लाग्ने छौँ | राजनीति, शिक्षानीति, धर्मनीति, पर्यावरण नीति, अर्थनीति, समाजनीति तथा अन्य सामाजिक तथा सांस्कृतिक नीतिहरूमा हामीले मौलिकता अङ्गिकार गर्नुपर्छ | निस्कलंक अनुसन्धान पद्धति अवलम्बन गरेर “सिद्धान्त अभिनिर्माण”को लक्ष हामीले पूर्ण गर्नेपर्छ | किनभने हामीले विश्वमा निर्यात गर्न सक्ने वस्तु भनेकै दर्शनशास्त्र वा सिद्धान्त हो जुन हामीसंग प्रसस्त छ, अक्षुण्ण छ र अमृत छ |

विश्वदर्शन दिवस २०१९ को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु |

स्वस्तिअस्तु

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के नेपालमा कुनै व्यक्तित्व राष्ट्र निर्माता वा राष्ट्रपिता नभएकै हो त ?

भीम उपाध्याय । नेपालमा राजतन्त्रको पालामा कार्यालयहरूमा एकताका प्रतिक मानेर राजारानीको तस्बिर हुने

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन । बाघको आक्रमणबाट सोमबार फेरि एक जनाको मृत्यु भएको छ । मृत्यु

बालसचेतना केन्द्र समस्यामा परेकाहरुलाई खाना खुवाउने अभियान संचालन गर्दै

काठमाडौं । बालसचेतना केन्द्र नेपालले दैनिक खाद्य वस्तुको अभावमा भोकले पीडित भएकाहरुलाई लक्षित

चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो

डा. गोविन्दशरण उपाध्याय । चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ त्यतिनै धेरै चर्चित