राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आँकलन गर्न सेनालाई रक्षामन्त्रीको निर्देशन



काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आँकलन गर्न जरुरी रहेको बताएका छन् ।

नेपाली सेनाको आयोजनामा बुधबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले भू राजनीतिक अवस्थिति, शक्ति राष्ट्रको रणनीति र प्रतिष्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीको विश्व मञ्चमा बढ्दो उपस्थितिलगायत विषयले सुरक्षा वातावरणमा चुनौती थपेको बताएका हुन् ।

उपप्रधानमन्त्री खड्काले आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहको धार्मिक र सामाजिक सद्भाव विथोल्ने एवं साम्प्रदायिक गतिविधिको सूक्ष्म विश्लेषण गर्दै सुरक्षा चुनौतीको समाना गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीका बारे छलफल गरी त्यस्ता चुनौतीको सामना गर्ने उपायहरू पहिल्याउन बैठक उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।

नेपाली सेनाले विभिन्न परिस्थितिमा सीमित स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको उल्लेख गर्दै रक्षामन्त्री खड्काले सेनाको साहस तथा पराक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चर्चा हुने गरेको स्मरण गरे ।

जाजरकोट भूकम्पलगत्तै खोज, उद्धार एवं राहत कार्यमा सेनाले प्रदर्शन गरेको सक्रियताको आफू स्वयं साक्षी रहेको बताउँदै उनले सेनालाई पर्याप्त स्रोत साधनको व्यवस्था गर्दै उच्च व्यावसायिकता कायम राख्न सरकार र आफ्ना तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गरे ।

रक्षामन्त्री खड्काले नेपाली जनताको तीव्र विकासको अपेक्षा पूरा गर्न राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्गलगायत विकटका बस्ती जोड्ने सडक आयोजनाको जिम्मेवारी सरकारले सेनालाई सुम्पिएको बताए । जटिल भू–बनोट भएका दुर्गम इलाकामा विकास निर्माणका थप जिम्मेवारी नेपाली सेनालाई प्राप्त हुनसक्ने उनले बताए ।

उपप्रधानमन्त्री खड्काले निर्धारित लागत तथा समयसीमाभित्रै यस्ता आयोजना सम्पन्न गर्नेतर्फ सम्बद्ध सबै पक्ष संवेदनशील भएर लागिपर्ने विश्वास व्यक्त गरे ।

संविधान प्रदत्त एवं राज्यले आवश्यक ठानेका अन्य जिम्मेवारीको निर्वाहमा नेपाली सेना सदैव अब्बल रहिआएको उल्लेख गर्दै उनले शान्ति स्थापनार्थ खटिने राष्ट्रको शीर्ष स्थानमा रहेको नेपाल र नेपाली सैनिकका बारेको प्रशंसाबाट सिङ्गो मुलुक गौरवान्वित भएको बताए । उनले नेपाली सेनालाई सबल र समयानुकुल बनाई राख्न आवश्यक कानूनी प्रावधानको तर्जुमा तथा विद्यमान कानूनी प्रावधानलाई अद्यावधिक गर्नेतर्फ प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका कार्यसँगै पर्यावरण संरक्षण, विपद् प्रतिकार्य, विकास– निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीको सामना गर्न हरपल तयारी अवस्थामा रहनुपर्ने बताए ।

प्रधान सेनापतिले परम्परागत र अपरम्परागत खतराद्वारा सिर्जित सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेको हुँदा सोहीअनुरुप तयारी अवस्थामा रहन एवं राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयमा छलफल गर्न बैठक फलदायी हुने विश्वास व्यक्त गरे ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार वर्तमान राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको विश्लेषण गर्दै प्रधानसेनापतिले नेपालको सीमाना भन्दा धेरै टाढा भइरहेका रुस तथा युक्रेनबीचको युद्ध, इजरायल तथा हमासबीचको युद्धलगायत गतिविधिले नेपालको आर्थिक तथा सामाजिक जीवनमा परिरहेको प्रभावले भूमण्डलीकरणको असरलाई प्रतिविम्बित गरेको बताए ।

बैठकमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिको सहभागिता थियो । बैठकमा सहभागीले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय समिति गठनको माग गर्दै राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्नताबारे छानबिनका लागि संसदीय

राष्ट्रपति पौडेल संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै LIVE

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक

गिरिबन्धु टि–स्टेटको जग्गा सट्टापट्टा नीतिगत तहमा हुने भ्रष्टाचारको एउटा नमूना हो, संलग्नमाथि कारबाही हुनुपर्छः महामन्त्री थापा

गगन थापा । गिरिबन्धु टि–स्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रिपरिषदले २०७८ वैशाख

सभामुखसँग कांग्रेसले भन्यो-छानबिन समिति नबनेसम्म विरोध यथावत

काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरुबीच सहमति नहुँदा संसदीय कामकारबाही प्रभावित हुने देखिएको