सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको बिदाई
काठमाडौं । सेवानिबृत्त भई जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार आयोजित विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फुलमालाका साथ मायाको चिनो प्रदान गर्दै विदाई गरेका हुन् । यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कँडेल खनाललाई संघकी उपाध्यक्ष ज्योती के.सी.ले फुलमालासहित विदाई गरिन् ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.लाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरे । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसैअवसरमा सांगठानिक विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे ।
सम्बोधनको क्रममा महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुती दिने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको योगदानको स्मरण गर्दै कर्तव्य पालनाको सिलसिलामा घाईते भई अंगभंग भएका राष्ट्रसेवकहरुको समेत सिघ्र स्वास्थ्य लाभको कामना गरे ।