आफ्नो इमान्दारिता र जिम्मेवारी आत्मसात गर्न प्रहरी महानिरीक्षकको निर्देशन
गण्डकी । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवं संविधानको रक्षार्थ प्रहरी सङ्गठनलाई पूर्वाधार सम्पन्न गराउनु पर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा दुईवटा आवास, भान्साघर र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त पक्की भवनको शुक्रबार उद्घाटन गर्दै उनले पूर्वाधारले सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् ।
साधन स्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै उनले समय सापेक्ष नवीनतम प्रविधिसँगै पूर्वाधार निर्माण गरी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
सङ्गठनलाई प्रभावकारी रूपमा अघि बढाउनकै लागि विभिन्न ६२७ युनिटहरू थप गरिएको जानकारी दिँदै उनले त्यसका लागि २३ हजार जनशक्ति आवश्यक हुने बताए । आफ्नो इमान्दारिता र जिम्मेवारीका लागि सबैले आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रहरी महानिरीक्षक थापाले कुनै पनि काम विशेषमा नचुकेमा सङ्गठन झुक्न नपर्ने विश्वास व्यक्त गरे ।
आम सर्वसाधारणले प्रहरी सङ्गठनप्रति आशा एवं विश्वास गरेको प्रसङ्ग उल्लेख गर्दै उनले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको सङ्गठनले सामाजिक सञ्जालका आधारमा आफ्ना धारणा बताउन नहुनेमा जोड दिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी सङ्गठनलाई पनि पूर्वाधार एवं प्रविधि सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै महानगरपालिकाले पूर्वाधार सम्पन्न बनाउन आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग गरिरहेको बताए ।
प्रमुुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनताको जीउधनको सुरक्षार्थ खटिने प्रहरी पूर्वाधार अभावका कारण आफैँ असुरक्षित हुने अवस्था हुन नहुनेमा जोड दिँदै त्यसका लागि राज्यले आवश्यकता अनुसारको पूर्वाधार तयार गरिदिनुपर्ने बताए ।
सरकारको सात करोड छ लाख ११ हजार ८४२ रुपैयाँको लागतमा उक्त चार वटा सुविधान सम्पन्न भवन निर्माण सम्पन्न गरिएको प्राविधि प्रहरी नायब उपरीक्षक केविनजङ्ग थापाले जानकारी दिए ।
उनका अनुसार नवनिर्मित चारवटा भवनमा महिला तथा पुरुष व्यारेक, सिनियर र जुनियर कर्मचारी आवास कक्ष, दुई वटा महिलासहित पाँच वटा हिरासत कक्ष, ८० जना क्षमताको भान्छा घरलगायत रहेका छन् । प्रहरी कार्यालय निर्माण सहयोग गर्ने पन्थी डेरिका सञ्चालक रेशम पन्थीलगायत निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, निर्माण व्यावसायिक र प्रहरी अधिकृत तथा जवानलाई कदरपत्रले सम्मान गरिएको थियो ।