खुल्यो प्रदेश १ र २ का लागि एपिएफ स्कुल



राजविराज । सशस्त्र प्रहरी बलको एपिएफ स्कुलको सप्तरीस्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको आइतबार उद्घाटन गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक समारोहबीच उद्घाटन गरेका हुन् ।

कीर्तिपुर र कोहलपुरपछि सप्तरीको शम्भुनाथमा निर्माण गरिएको सशस्त्र प्रहरीको आवासीय विद्यालय प्रदेश १ र २ लाई पायक पर्ने गरी बनाइएको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताए । खनालले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भए सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र विकास हुने बताए । सशस्त्र प्रहरी बललाई विद्यालय निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले आठ बिघा ११ कट्ठा जग्गा उपलब्ध गराएका हुन् ।

“ढुङ्गा खोज्दा देउता मिल्यो”, महानिरीक्षक खनालले भने, “जग्गा खोजिरहेका बेला मनकारी भगतजीले चाँडो स्कुल बनाउने हो भने जग्गा दिन्छु भन्दै आउनुभयो ।” कार्यक्रममा जग्गादाता भगत र उनकी श्रीमती ठाकोदेवी भगतलाई महानिरीक्षक खनालले प्रशंसापत्रसहित सम्मान गरे ।

विद्यार्थी भर्ना गर्ने र शिक्षा दिने कार्य महत्वपूर्ण हो तर शिक्षाको वातावरण बनाइदिने महान् कार्य हो भन्दै खनालले भगत दम्पतीको प्रशंसा गरे । सम्मानित भगतले नवनिर्मित विद्यालय भविष्यमा क्याम्पस बन्ने सपना देखेको र सोका लागि थप दुई/तीन बिघा जग्गा दान गर्ने मनमनै सङ्कल्प गरिसकेको बताए ।

आगामी शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिँदै विद्यालयका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनसिंह ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि छ करोड ५१ लाख खर्च भएको बताए । यसैगरी उनले छात्रावास, मेस, ब्यारेकका लागि सात करोड ४९ लाखको काम भइरहेको जानकारी दिए ।

विद्यालयमा प्रहरी परिवारका बालबालिकाका साथै अशक्त, असहाय, गरिब सर्वसाधारण नागरिकका बालबालिकालाई समेत अध्ययन गराइने सशस्त्र प्रहरी गण ६ का सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । सन् २००५ मा स्थापित नेपाल एपिएफ स्कुल प्रहरी बलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा विद्यालय सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको बाँकी कार्यक्रम सञ्चालन

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष

नाम्सले आगामी वर्षदेखि एमबिबिएस पढाउने

  काठमाडौँ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने

स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह