सर्जिकल पसलका कर्मचारी कुटपिट गर्ने डिएसपीमाथि छानविन सुरु
वीरगंज । वीरगंज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
समितिले वडा नम्बर ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैरव्यावसायिक व्यवहारको छानबिन र आवश्यक कारवाही गर्ने जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान शुरू गरिसकेको र कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावलीबमोजिम कारवाही गरिने जनाइएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रल्हाद कार्कीले वीरगञ्जमा सर्जिकल पसलका कर्मचारी कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।
उनले पानीट्याङ्कीस्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अफ्रोज अहमदलाई बुधबार विहान साढे १० बजे कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । पसलको सीसीटीभी क्यामेरामा कैद भएको उक्त भिडियोमा डीएसपी कार्की आक्रोशित भएर अहमदलाई कुटपिट गरेको देखिन्छ ।