पूर्वी पृतना हेडक्वार्टर ईटहरीमा आयोजित भूतपूर्व सैनिक सम्मेलन(फोटोफिचर)



सुनसरी । नेपाली सेनाले चारभन्दाबढी सन्तान सेनामा भर्ती हुन प्रोत्साहन गर्ने १६ मातापितालाई सम्मान गरेको छ । पूर्वी पृतनामा बुधबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीहरुलाई सम्मान गरेका हुन् ।

यसअघिका विभिन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दाबढी सैनिक सेवामा रहने २८ परिवारलाई सेनाले सम्मान गरिसकेको छ । सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्ने यस भेगका ९७ वर्षीया मायादेवी कार्की र ९१ वर्षीय रत्नबहादुर पौडललाई पनि समारोहमा सम्मान गरियो ।

पूर्वी पृतना इटहरी व्यारेकमा मुख्य शिविर र मातहतका १४ मध्ये ताप्लेजुङ र तेह्रथुमबाहेकका जिल्लामा आज एकैसाथ भूपू सैनिक सम्मेलन आयोजना गरिएको हो । ताप्लेजुङमा बसोबास गर्नेलाई पाँचथर र तेह्रथुमका भूपूलाई धनकुटामा सहभागी गराइएको सेनाले जनाएको छ । इटहरीमा भएको मूल समारोहका मुख्य शिविरमा मातहतका जिल्लाबाट भूपूलाई प्रतिनिधिमूलक सहभागी गराइएको थियो ।

पूर्वी पृतना मातहतका जिल्लामा करीब सात हजारको हाराहारीमा भूपू सैनिकको बसोबास रहेको जानकारी दिइएको छ । पछिल्ला वर्षमा सेनाले प्रत्येक प्रधानसेनापतिको तीनवर्षे कार्यकालमा प्रदेशगतरुपमा एक–एक पटक भूपू सैनिक सम्मेलन गर्दै आएको छ ।

समारोहमा सर्वाेत्कृष्ट र उत्कृष्ट उद्यमीलाई सम्मानका साथै लघुवृत्त सञ्चालन गर्ने बहालवाला तथा भूपू सैनिक परिवारलाई सहुलियत ब्याजमा प्रदान गरिएको कर्जाको चेक हस्तान्तरण गरियो । विगतका सम्मेलन भूपू सैनिक र उनका परिवारले दिएको सुझावका आधारमा सेनाले भूपू सैनिकका परिवारको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सीप, स्वरोजगार, सुविधा र सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गत वर्षको फागुनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै स्थगित सम्मेलन गत माघमा पोखराबाट पुनः शुरु भएको थियो । प्रधानसेनापति थापाले सम्मेलनमा भूपू सैनिकसँग अन्तक्र्रिया गरी कल्याणकारी कार्यक्रमलाई थप प्रभावकारी तुल्याउने सन्दर्भमा राय सुझाव लिए । सम्मेलनका क्रममा भूपू र उनीहरुका परिवारको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।

हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ८५ हजारको हाराहारीमा छन् । प्रधानसेनापति थापाले शारीरिकरुपमा अशक्त (अपाङ्ता भएका) भूपू सैनिक र उनका परिवारलाई ह्वील चियरसमेत प्रदान गरे ।

कोभिड–१९ को सङ्क्रमण जोखिम पक्षलाई दृष्टिगत गरी विगतका झैँ यस क्षेत्रका वेशभूषा, रहनसहन झल्कने गीत सङ्गीत र नृत्यसहितका झाँकी मात्र होइन, भूपू सैनिकको जोसिलो परेड नभएका कारण यसपटकको सम्मेलन विगतका तुलनामा पृथक रहन पुग्यो ।

सैनिक कल्याणकारी बोर्डको समन्वय र सेनाको व्यवस्थापनमा भएको उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले जीवनको ऊर्जावान् समय राष्ट्र सेवामा व्यतीत गरेका भूपू सैनिकलाई बाँकी जीवन पनि मुलुकको हितका खातिर प्रयोग गर्न सुझाव दिए ।

सो अवसरमा बलाधिकृतरथी प्रभूराम शर्माले सेनाले भूपू सैनिकको स्वास्थ्य र जीवनस्तरमा सुधार ल्याउने पाटोमा कुनै कसर बाँकी नराख्ने बताए । बोर्ड कार्यकारी निर्देशक गौरव तण्डुलले सैनिक कल्याणकारी कार्यक्रमलाई आगामी दिनमा नयाँ सोच र चिन्तनका आधारमा अघि बढाउन हिताधिकारीसँग सुझावको अपेक्षा गरे ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका उपसभापति केशरबहादुर भण्डारी, पूर्वरथी पत्तेबहादुर लिम्बूलगायतले भूपू सैनिक र उनका परिवारका लागि चालिएका हितकारी कार्यक्रमका विविध गतिविधिबारे सम्मेलनमा जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्म सम्मानको आधार भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । प्रधानसेनापतिसँगको अन्तक्रियामा भूपू सैनिकका प्रनितिधिहरुले आफूहरुका सन्तानलाई विद्यालय र सङ्गठन सेवाको भर्नामा सहजता प्रदान गर्न, कल्याणकारी कार्यक्रम विस्तार गर्न, उपचारलाई सजिलो तुल्याउनेलगायतका विषय राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत्

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।