दोधारा चाँदनीको कञ्जभोजमा बिओपी उद्घाटन



कञ्चनपुर । नेपाल–भारत सीमा क्षेत्र दोधारा चाँदनी नगरपालिका–१० कञ्जभोजमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापाले आइतबार बिओपीको एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले मातृभूमिको रक्षाका लागि सशस्त्र प्रहरी सीमा क्षेत्रमा चौबिसै घण्टा तैनाथ रहेको बताए । “सीमा क्षेत्रको सुरक्षा गरी मातृभूमिको ऋण चुक्ता गर्न चाहन्छौँ”, उनले भने, “यसका लागि स्थानीय नागरिकसँग न्यायोचित सम्बन्ध बनाई सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने कार्यमा लागेका छौँ ।”

विगतमा सीमाको रक्षा आम नागरिक र प्रहरीको सीमा चौकीले मात्रै गर्दै आएको चर्चा गर्दै उनले हाल सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको काँधमा आएको बताए । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले सीमा पारिपट्टि बस्दै आएको भारतीय सीमा सुरक्षा बल एसएवीसँग पर्याप्त भौतिक पूर्वाधार भए पनि बिओपीमा बस्ने सशस्त्र प्रहरीसँग बस्नका लागि त्रिपालसमेत नभएको बताए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्लाको शान्तिसुरक्षा र विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरीले प्रभावकारीरुपमा कार्य गरिरहेको बताए । सीमा स्तम्भको सुरक्षासँगै सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले अग्रणी भूमिका खेलेको उनले बताए । उद्घाटन कार्यक्रममा बिओपी स्थापनाका लागि पाँच कट्ठा जग्गा दान गर्नुहुने खडकबहादुर बस्नेतलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण थापाले सम्मानित गरे ।

सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपीमा २५ जना जवान तैनाथ छन् । सीमा स्तम्भ नम्बर ७७९ देखि ७९५ सम्मको नगरपालिका–८, ९ र १० को सीमा क्षेत्र यस बिओपीमा कार्यरत सुरक्षाकर्मीको जिम्मामा छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक गणपति वीरेन्द्रबहादुर ऐरका अनुसार कञ्चनपुरमा १२९ दशमलव पाँच किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १८ वटा बिओपी स्थापना गरिएका छन् । २५ वटा बिओपी स्थापना गर्ने लक्ष्य छ । छवटा बिओपीका लागि स्थायी भवनका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

  काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष