पर्व सुरक्षा गर्न ४२ हजार प्रहरी, कुन प्रदेशमा कति ?



मातृका दाहाल

काठमाडौँ — चाडपर्व सुरक्षाका लागि मुलुकभर ४२ हजार प्रहरी जनशक्ति खटिएका छन् । उपत्यकासहित ७ वटै प्रदेश प्रहरी कार्यालयमार्फत दसैं, तिहार, नेपाल संवत र छठलगायत पर्व सुरक्षा योजनाअन्तर्गत ४३ एसपी र १ सय २० डीएसपीसहित ४२ हजार ६ सय १९ जना प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा रणनीतिअनुसार अपुग २ हजार ५ सयभन्दा बढी जनशक्ति ७ वटै प्रदेशस्थित गण, गुल्म तथा तालिम केन्द्रबाट व्यवस्थापन गरिएको जानकारी प्रहरी मुख्यालयले दिएको छ । चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसुरलगायत अपराधका २४ क्षेत्र निर्धारण गरेर जनशक्ति तैनाथ भएकोमा मोबाइल, पिकेट, नियमित चेकिङ, सरप्राइज चेकिङ, पैदल गस्ती, क्युआरटी, साइकल गस्ती, नाकाबन्दी, सादा पोसाक, होटल तथा लज चेकिङलगायत १८ फरक–फरक भूमिकामा खटाइएको छ ।

पर्व अवधिभर अपराधमा संलग्नको पहिचान गर्न तथा आवश्यक सूचना संकलनका लागि भन्दै उपत्यकामा ९३ जना घुमुवा परिचालन गरिएको छ । काठमाडौंमा एक डीएसपी र २ इन्स्पेक्टरसहित ५०, भक्तपुरमा नायब निरीक्षक (सई) सहित ३० र ललितपुरमा सईसहित १३ प्रहरी घुमुवाका रूपमा खटिएका छन् ।

सुरक्षा योजना निर्माणमा खटिएका अधिकारीका अनुसार प्रहरी संगठनको कुल दरबन्दीको करिब ६० प्रतिशत जनशक्ति फिल्डमा खटिएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले चाडपर्वमा यात्रु तथा उनीहरूका साथमा रहेका धनमालको सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी सुरक्षा रणनीति तय गरिएको बताए ।

चाडपर्व सकिएर जनजीवन सामान्य अवस्थामा नआएसम्म पर्व सुरक्षा योजनाअन्तर्गत नै आवश्यक शान्ति सुरक्षा व्यवस्थापन गरिने छ । चाडपर्व सुरक्षाका लागि ७७ वटै जिल्लाबाट परिचालित जनशक्तिलाई ८ हजार २ सय ६ समूहमा तैनाथ गरिएको छ ।

‘देशभर पर्व सुरक्षा योजनाअन्तर्गत ४० हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको छ,’ प्रहरी प्रवक्ता पोखरेलले भने, ‘चाडपर्व मनाउन घर गएका आम नागरिक पुनः कार्यस्थल फिर्ता र स्थिति सामान्य अवस्थामा नआएसम्म पर्व सुरक्षाकै रणनीतिअनुसार आवश्यक सुरक्षा व्यवस्थापन मिलाइएको छ ।’

सुरक्षामा खटिएका कर्मचारीले कार्यक्षेत्रमै चाडपर्व मनाउने जानकारीसमेत उनले दिए । ‘अघिल्लो वर्ष चाडपर्वमा घर गएकालाई यसपटक ड्युटीमा खटाइएको छ, यस वर्ष ड्युटीमा खटिएकाले अर्को वर्ष चाडपर्व मनाउन घर जानलाई पहिलो प्राथमिकता दिइने छ,’ उनले भने, ‘अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय र सहकार्यबाट शान्ति सुरक्षा व्यवस्थापनमा जोड दिएका छौं ।’
विशेषगरी मुख्य सहरी क्षेत्र, राजमार्ग, हाटबजार, बैंक र वित्तीय संस्थालगायत बढी आर्थिक कारोबार हुने क्षेत्र, शक्तिपीठ, लामो तथा छोटो दूरीका बसपार्क केन्द्रित गरेर थप सुरक्षा सतर्कता अपनाइएको प्रवक्ता पोखरेलले बताए । प्रहरी मुख्यालयका अनुसार सुरक्षा योजनाअन्तर्गत नै ११ हजार ४ सय १ प्रहरीलाई हतियारसहित फिल्डमा खटाइएको छ ।

प्रत्येक ४ देखि ६ जनासम्मको समूह बनाएर मातहत क्षेत्रको गस्तीमा प्रहरी खटाइएकामा प्रत्येक समूहमा कम्तीमा १ जना हतियारसहितको सुरक्षाकर्मी रहने छन् । १३ हजार ५ सय १६ प्रहरीलाई लाठीसहित परिचालन गरिएको छ ।

सबभन्दा बढी प्रहरी एक नम्बर प्रदेशअन्तर्गतका जिल्लामा ६ एसपी र २३ डीएसपीसहित ७ हजार ७ सय ७१ जना खटाइएको छ । ५ नम्बर प्रदेशअन्तर्गत ८ एसपी र १८ डीएसपीसहित ७ हजार १ सय ४३ प्रहरी पर्व सुरक्षा योजनाअन्तर्गत तैनाथ छन् ।

उपत्यका सुरक्षा योजनाअन्तर्गत महानगरीय प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरमा ५ एसपी र १७ डीएसपीसहित ६ हजार १ सय ५२ जनालाई खटाएको छ । २ नम्बर प्रदेशमा ८ एसपी र १५ डीएसपीसहित ५ हजार ७ सय ७४ प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशमा ४ हजार २ सय २०, ३ नम्बर प्रदेश (उपत्यकाबाहेक) मा ४ हजार ६९, सुदूरपश्चिम प्रदेशमा ४ हजार १२ र कर्णाली प्रदेशमा ३ हजार ४ सय ७८ प्रहरी खटिएका छन् ।
भारतबाट दसैं मनाउन घर फर्किएका नागरिकको जनधन सुरक्षामा ध्यान दिनसमेत प्रहरी मुख्यालयले भारतीय सीमा जोडिएका प्रदेश प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ ।

सशस्त्र प्रहरी बल मुख्यालयले चाडपर्व सुरक्षा योजनाअन्तर्गत देशभर ९१ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । पर्व मनाउन घर फर्कनेहरूको जनधन सुरक्षा र लामो तथा छोटो दूरीका सवारीमा आवागमन गर्ने नागरिकलाई लक्षित गरेर सशस्त्रले सहायता कक्ष राखेको हो ।

सशस्त्रका डीएसपी अजय छतकुलीका अनुसार प्रदेश १ मा २० र दुई नम्बर प्रदेशमा ४७ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । त्यस्तै तीन नम्बर र गण्डकी प्रदेशमा एक/एक, पाँच नम्बरमा १६ र सुदूरपश्चिम प्रदेशमा ६ ठाउँमा सहायता कक्ष राखिएको छ ।

कान्तिपुर दैनिकबाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लियोनमा हुने इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ