एमालेले गठबन्धन टुटाउने विजनेश गर्दैनः सचिव भट्टराई
दैलेख । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका कारण सत्ता गठबन्धन नटुट्ने बताएका छन् । मंगलबार दैलेखमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले सत्ता गठबन्धन टुटाउन एमालेले कुनै विजनेस नगर्ने बताएका हुन् ।
अस्थिर राजनीतिले कसैले फाइदा नगर्ने भन्दै सचिव भट्टराईले प्रधानमन्त्रीमा अस्थिरता देखिएको बताए । उनले भने, ‘एमालेका कारण कुनै हालतमा गठबन्धन टुट्दैन्, यो विजनेस एमालेले गर्दैन्। तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ।’
भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थनको कुरा नैतिक रुपमा पनि नमिल्ने बताए। हिजो कांग्रेसले फालेको माओवादीलाई एमालेले सिंहदरबार पुर्याएको भन्दै अब अर्को खेल नखेल्न सुझाव दिए ।
उनले भने,‘उहाँलाई कांग्रेसले बाटोमा फालेको थियो, हामीले उद्वार गरेका हौँ । त्यसपछि सिंहदरबारमा पुर्यायौं । हामी कसैलाई साथ दिन तयार भएर बसेका थियौं। उहाँ हामीलाई खोज्दै आउनुभयो।’