प्रदेश सभामा गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएपछि बहुमतको आधार पेस गरेर जेठ २९ गते पोखरेल मुख्यमन्त्री बनेका थिए ।
त्यसको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत पुष्टि गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसअनुरूप मुख्यमन्त्री पोखरेलले नियुक्तिको ७ दिनमै आज विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन् ।
जेठ २८ गते पोखरेलले कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ जनाको समर्थन जुटाई मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए । जतिबेला गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ६० थियो । विपक्षमा एमालेका २७ सांसद रहेका छन्। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ।