अदालतलाई धम्की दिने प्रधानमन्त्रीको शैली अलोकतान्त्रिकः प्रवक्ता शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य पदीय गरिमा विपरीतको भएको बताएका छन् ।
शनिबार साँझ ट्वीट गर्दै प्रवक्ता शर्माले अदाल दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने भन्दै प्रधानमन्त्रीको अभिव्यक्ति पदीय गरिमा विपरीत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने को विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ ! न्यायालयको फैसला स्विकार्छौं कहिलै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन ।’
शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै सेटिङबाट जनताको विपक्षमा फैसला आए आफूहरुको आन्दोलन अगाडि बढ्ने बताएका थिए । उनले फैसला गर्नुअघि देशभर भइरहेका यस्ता सभा सम्मेलनमा सर्वोच्चले ध्यान दिने आफूलाई विश्वास लागेको बताए । उनले भने, ‘कुनै सेटिङ र तिकडम गरी देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ र त्यस्ता शक्तिलाई पराजित गर्छौ।’